८ आश्विन २०७७, बिहीबार
  • केदार शर्मा

चितवन, ८ असाेज । नारायणी नदीको बहाबले सतर्कता तह पार गरेको छ । देशभर हिजोदेखि नै निरन्तर वर्षा भएपछि नारायणीको बहाब अझै बड्दो क्रममा रहेको छ । जल तथा मौसम विभागका अनुसार नारायणी नदीको पुल र देवघाट दुवै क्षेत्रमा सतर्कता तह पार गरिसकेको छ ।

पुल तर्फ नारायणी नदीमा पानीको सहत ११.२३ मिटर पुगेको छ । यहाँ ११ मिटर सतह पुगेमा सतर्कता तह नाघेको मानिन्छ । यस्तै देवघाट क्षेत्रतर्फ पानीको सतह ७.९ मिटर पुगेको छ । जबकी ७.३ मिटर सतर्कता तह मानिन्छ । यहाँ पानीको सतह ८ मिटर पुगेमा खतराको तह पार गर्नेछ ।

चितवनमा निरन्तर वर्षा भइरहेकाले देवघाट क्षेत्रमा खतराको तह पार गर्ने देखिन्छ । निरन्तर वर्षासँगै बाढीको संभावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई चितवन प्रशासनले सतर्क रहन अनुरोध गरेको छ ।

माैसम पुर्वानुमान महाशाखाले पनि आज (बिहीबार) दिनभरजसाे नै देशभर सामान्यदेखि पुर्णतया बदली रही अधिकांश स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएकाे छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

LIVE TV