७ आश्विन २०७७, बुधबार

बारा, ७ असोज । जिल्ला प्रहरी कार्यालय बाराले १२ लाख १६ हजार रुपैयाँ नक्कली नोटसहित २ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले बारागढी गाउँपालिका–५ सिघासनी बस्ने २३ वर्षीय बलिराम चौधरी र भारतको बिहार मोतिहारी जिल्ला झरौखर बस्ने २७ वर्षीय सन्दीप कुमारलाई नियन्त्रणमा लिएको हो ।

सिम्रौनगढ नगरपालिका वडा नं. ९ बसवरीया नहरमा चोरीका मोबाइल खरिद बिक्री भएको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई नक्कली नोटसहित नियन्त्रणमा लिएको बाराका प्रहरी प्रमुख कृष्ण पंगेनीले बताए ।

बा ६४ प ९७०६ नम्बरको मोटरसाइकलमा आएका उनीहरुको शरीर खान्तलासी गर्दा सन्दीपले बोकेको पहेलो रंगको झोलाभित्र रातो प्लाष्टिकमा नक्कली नोट लुकाएको पाइएको एसपी पंगेनीले बताए ।

चेकजाँचका क्रममा १ हजार दरको नक्कली नोट १ हजार २ सय १६ थान फेला पारिएको छ । उनीहरुले उक्त नोट बरामद गरिएको नोटहरू मोबाइल बिक्री गरी प्राप्त भएको बताएका छन् ।

मोबाइल खरिद गर्ने व्यक्तिले नोट दिएर ३० थान मोबाइल लिई फरार भएको उनीहरुको दाबी छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बारामा ल्याएर थप अनुसन्धान र कारबाही शुरु गरिएको प्रहरीले जनाएको छ ।

मोबाइल लिएर भागेका भनिएका व्यक्तिको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

LIVE TV