७ आश्विन २०७७, बुधबार

काठमाडौं, ७ असोज । संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित उपसमितिलाई डिल्लीबजार कारागारको अनुगमनमा रोक लगाइको छ ।

कोरोनाको महामारीमा कारागारभित्र भएको व्यवस्थापनको स्थलगत अनुगमन गर्न केन्द्रीय कारागार कार्यालय त्रिपुरेश्वर, केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वर र कारागार कार्यालय नख्खुपछि डिल्लीबजार कारागार कारागार पुगेको संसदीय उपसमितिको टोलीलाई अनुगमनमा रोक लगाएको हो ।

संसदीय समितिले अनुगमनका लागि यसअघि नै पत्र पठाएपछि कारागारका जेलर गणेश आचार्यले अनुगमनमा रोक लगाएको उपसमिति संयोजक जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले जेलर आचार्यको स्वनिर्णयले अनुगमनमा रोक लगाउनु संसदमाथिको उपहास भएको भन्दै गृहमन्त्रालयको ध्यानाकर्षण गराइने बताउनुभयो ।

उपसमितिले कारागारमा कमजोरी रहेको निष्कर्ष निकालेको छ । उपसमितिले यसअघि त्रिपुरेश्वर कारागारको अनुगमन गरेको थियो । त्यहाँको अवस्था ठिकै रहेपनि नख्खु कारागारमा कोरोना संक्रमितको व्यवस्थापनका लागि श्रोत साधनको अभाव रहेको पाइएको बताइएको छ ।

कोरोना न्यूनीकरण र रोकथाम तथा संक्रमितको उपचारका लागि सरकारले गरेका काम कारबाहीको बारेमा पछिल्लो समय उपसमितिले निरन्तर स्थलगत अनुगमन गरिरहेको छ ।

LIVE TV