६ आश्विन २०७७, मंगलवार
  • शीतल भट्ट,

कञ्चनपुर, ६ असोज । घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरमा सेवाग्राहीको गुनासो र आरोपको आइरो लागेको छ । घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरमा सेवाग्राहीले चियापानी नदिदासम्म काम नहुने र ढिलासुस्ती हुने तथा घण्टौं लाइन लाग्दासमेत पालो नआउने गुनासो गरेका हुन् ।

पहुँच, शक्ति, नातागोता, चिनजानका आधारमा सेवाग्राहीहरुको काम हुने गरेको समेत गुनासो आएको छ । कोरोना महामारीको समयमा बैदेशिक रोजगारीबाट स्वदेश फर्किएका उद्यम गर्न चाहने युवाहरुलाई बिना धित्तो सहुलियतमा ऋण उपलब्ध गराउने सरकारको नीति अनुसार कञ्चनपुरका अधिकांश युवाहरु घरेलु उद्योग दर्ताका लागि आइरहेका छन् ।

विगतका वर्षहरुको तुलनामा यस बर्षको पहिलो चौमासिकमै कार्यालयमा सेवाग्राहीको भीड लागेको छ । तर, सेवाग्राहीले राम्रोसँग सेवा नपाएको गुनासो पोखेका हुन् । उनीहरुले सामान्य फाइल अपुग हुँदा पनि कसैको काम गर्ने, कसैको नगर्ने परिपाटी देखिएको गुनासो गरेका छन् ।

कृष्णपुर नगरपालिका–३ देखतभूलीका युवा शंकर विष्टले आफ्नो कामका लागि घरेलु कार्यालयले यो पुगेन, त्यो पुगेन भनेर अल्झाइरहेको गुनासो गरे । ‘म विदेशबाट फर्किएको छु, ‘उनले भने, ‘विदेशबाट फर्किएलाई सहुलियता व्यवसाय गर्न ऋण दिने योजना अनुरुप स्थानीय सरकारमा व्यवसाय दर्ता गरे ।’

स्थानीय सरकारमा व्यवसाय दर्ता गरेर बैंकबाट ऋणका लागि घरेलु कार्यालयमा समेत उद्योग दर्ता भएको प्रमाण–पत्र मागेपछि उद्योग कार्यालयमा उद्योग दर्ताका लागि जाँदा कार्यालयले लालपूर्जा नभएको भन्दै दर्ता गर्न नमानेको गुनासो पोखे ।

‘हामीले उद्योग सञ्चालन गर्ने जमिनको लालपुर्जा छैन’, उनले भने, ‘के लालपूर्जा नहुँदा हामीले व्यवसाय नै गर्न नपाउने हो त ।’

उद्योग सञ्चालनका लागि आफ्नो नापी भएको जमिन भएको बताउदै यसअघि घरेलु तथा उद्योग कार्यालयमा लालपूर्जा बिनै उद्योग दर्ता भएपनि अहिले दर्ता नभएको भन्दै गुनासो गरे । ‘यसअघि हाम्रै गाँउका कित्ताकाट भएका जमिनमा उद्योग दर्ता भएका छन’, उनले भने, ‘आज आएर मेरो उद्योग किन दर्ता भएन ? के मैले कर्मचारीलाई घुस नदिएकाले हो ।’

कोरोना कहरले बिदेशमा रोजगारी गुमाएका युवाका लागि सरकारले ल्याएको योजनामा कर्मचारी बाधक कि, कानून ? भन्दै उनले प्रशन गरे । २०५४ सालमा चन्दंसिह कुँवरको नाममा सरकारले ३४ नम्बर कित्ताकाटमा १२ कठ्ठा जमिन दिएको थियो । शंकरले त्यही जमिनमा उद्योग दर्ता गर्न चाहेका थिए । तर, घरेलुले लालपूर्जा ल्याउ भन्दै अडकाएको छ ।

त्यस्तै, दोधाराका पदम मगरले लाइन लाग्दा समेत तपाईको पालो सकिएको भन्दै फाइल नै बुझ्न नमानेको दुखेसो पोखे । ‘त्यति टाडाबाट आएको छु । समान्य नविकरणका लागि दुई दिन लाग्यो ।’ उनले पनि चियापानी खर्च नदिदा कर्मचारीले काम नगरिदिएको आरोप लगाए ।

दैजीका महेश भट्टले कृषि उद्योगका लागि आएको बताउदै उनले कर्मचारीले यो पुगेन, त्यो पुगेन भनेर आलटाल गरेका गुनासो गरे । ‘यसअघि लालपूर्जा नभएका जमिनमा समेत उद्योग दर्ता भएका छन्’, उनले भने, ‘आज आएर किन हामीसँग लालपूर्जा मागियो ?’

अधिकांश सेवाग्राहीले केही कर्मचारीले सेवाग्राहीसँग नम्र भन्दा पनि आक्रोशित हिसाबले बोल्ने गरेको, बोल्दा पनि पैसा लाग्ने जस्तो गरेको दुखेसो पोखेका छन् । घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरका प्रमुख मोहन जोशीले कार्यालय भित्र कर्मचारीले कुनैपनि सेवाग्राहीबाट चियापानी खर्च मागेको आरोप पूर्ण निराधार भएको बताए ।

‘म आफै सुशासन गर्न चाहन्छु’, उनले भने, ‘कार्यालय भित्र अनावश्यक सेवाग्राहीलाई दुःख दिने कुरै भएन । कसै बिचौलियाले बाहिर मागेको भए हामीलाई थाहा हुँदैन ।’

LIVE TV