६ आश्विन २०७७, मंगलवार
  • यामराज कटुवाल,

दैलेख, ६ असोज । फिरन्ते जीवन बिताउदै जंगलमा बसोबास गर्दै आएका राउटे समुदायलाई खाद्यन्न सहयोग गरी संविधान दिवस मनाइएको छ ।

सामाजिक सेवा केन्द्र सोसेकले दैलेखको गुरास गाँउपालिका–८ भ्युउचुलास्थित धनचौरमा रहेको राउटे समुदायको बस्तीमै गएर खाद्यन्न सहयोग गरी संविधान दिवस मनाइएको हो ।

नेपालको सम्पदा र कर्णाली प्रदेशको गहनाको रुपमा चिनिने राउटे नागरिक दक्षिण एशियाको एक मात्र फिरन्ते जाती हो । आफूलाई वनको राजा भन्न रुचाउने राउटे कर्णालीका दैलेख, सुर्खेत लगायतका जिल्लाको जंगलमा भ्रमणशील जीवनयापन गर्दै आइरहेका छन् ।

राउटेले स्थायी बसोबास, लेखपढ र खेतीपातीलाई अस्वीकार गर्दै आएको छ । त्यसोत, सरकारले राउटे समुदायका प्रत्येक व्यक्तिहरुलाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ताको व्यवस्था पनि गरेको छ ।

संविधान दिवसको अवसरमा गुराँस गाउँपालिकाको समन्वयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा आयोजित कार्यक्रममा राउटे बालक, युवा तथा बृद्धहरुले गाउँपालिकाका जनप्रतिनिधिलगायतको उपस्थितिमा आफ्नै संस्कृृति झल्कने नाचसमेत देखाएका थिए ।

राउटेले आफ्नो कला, संस्कृति र भेषभुषा प्रदर्शन समेत गरेका थिए । राउटेको झाँकीले कार्यक्रममा रौनक थपेको थियो । आफूहरुले बनाएको सामान पहिले जस्तो विक्री नहुने र सरकारले दिने भत्तासमेत दिन ढिलो गरेपछि समस्या हुने गरेका राउटेका पूर्व मुखिया महिन बहादर शाहिले बताए ।

सरकारले बृद्ध भत्ता पनि दिनुपर्ने उनका भनाइ छ । पहिले जस्तो आफूहरुले बनाउने समान विक्री गरेर मात्र गुजरा चल्ने गरेकोमा सरकारले भत्ता र संघ संस्थाहरुले सहयोग गर्न लागेपछि आफूहरुमा परिवर्तन आएको स्वीकार्छन राउटेका मुखिया सूर्यनारायण शाही ।

आफ्नो परम्परमगत पेशा त्यनि नचल्ने भएकाले सरकारले अन्य काम सिकाएमा वा दिएपछि अन्य काम पनि गर्न तयार रहेको र विस्तारै परिवर्तन हुन सकिने उनले बताए ।

राउटे समुदायलाई आफ्नो पालिकाले परिचय बनाएर दिएको र खाद्यन्न सकिएपछि वडा वा पलिकामा आउने गरेकाले यतिखेर पनि सामाजिक सेवा केन्द्रसँग सहयोगको लागि सहजीकरण गरी संविधान दिवसको अवसर पारेर खाद्यन्न वितरण गरेको गुराँस गाँउपाकिला ८ का वडाध्यक्ष पूर्ण बहादर वलीले बताए ।

विगत ३ वर्षदेखि राउटे समुदायलाई प्रदेश राजधानी सुर्खेमा लगेर संविधान दिवस मनाउने गरिएकोमा कोभिड १९ का कारण यसवर्ष उनीहरुकै बस्तीमा आई खाद्यन्न सहयो गरेर संविधान दिवस मनाएको सामाजिक सेवा केन्द्रका संस्थापक अध्यक्ष हिरा सिंह थापाले जानकारी दिए ।

यस भन्दा अगाडि वाल दिवसको अवसरमा राउटे बाल बालिकालाई कपडा पनि सहयोग गरिएको थापाले बताए । राउटे समुदायका नागरिकहरुलाई २०७५ सम्म सरकारी प्रमाण–पत्र बिनै सरकारी सुविधा प्रदान गरिन्थ्यो । तर, २०७५ असार ३० गते दैलेखको गुराँस गाउँपालिकाले परिचय पत्र प्रदान गरेको थियो ।

हाल सोही परिचयपत्रका आधारमा उनीहरुले सरकारी सुविधा (सामाजिक सुरक्षा भत्ता) लिइरहेका छन् । उनीहरुको जनसंख्या १ सय ५१ जना छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले ४६ घरपरिवारलाई चामल, तेल, नुन लगाएतका खाद्यान्न उपलब्ध गराएको छ ।

 

LIVE TV