चन्द्रप्रकाश बानियाँको ‘महारानी’ मा त्यस्तो के छ, जसले मदन पुरस्कार दिलायो (भिडियो)



प्रकाशित मिति : Sep 21, 2020

काठमाडौं, ४ असोज । १ सय ५१ पुस्तकलाई उछिन्दै २०७६ को मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको ‘महारानी’ले पाउँने भएको छ ।

ऐतिहासिक विषयवस्तुलाई लिएर तयार पारिएको उपन्यास ‘महारानी’ले प्रतिष्ठित पुरस्कार हात पारेपछि आफुलाई अत्यन्त्य खुसी लागेको लेखक बानियाँले बताउँनु भयो ।

न्यूज २४ टेलिभिजको नियमित कार्यक्रम ‘छ प्रश्नमा’ कुरा गर्दै बानियाँले आफु साहित्यकार नभई खोज अनुसन्धान मुलक सामग्री बाहिर ल्याएको बताउँनु भयो । आफ्नो कामप्रति उचित मूल्यांकन भएको भन्दै उहाँले खुसी व्यक्त गर्नु भयो ।

‘महारानी’ उपन्यासमा तत्कालीन बाइसेचौबीसे राज्यकालमा साना राज्यबीचमा हुने पारस्परिक खिचातानी, जालझेलबाट पार पाउनका लागि राजारजौटाले अपनाउने कूटनीति, चालबाजीलगायत ऐतिहासिक विषयवस्तु समेटिएको छ ।

त्यसैले म्याग्दीबाट निर्वाचित पूर्वसांसद समेत रहनु भएका साहित्यकार बानियाँलाई ऐतिहासिक राजनीतिलाई बुझेको र वर्तमान राजनीतिलाई पनि नजिकबाट नियाल्दा के समानता रहेछ रु भन्ने कार्यक्रम प्रस्तोता राजिब खत्रीको प्रश्नमा धेरै हदसम्म अझै पनि समानता रहेको स्वीकार्नु हुन्छ । बरु अहिलेको राज्य व्यवस्था भन्दा तत्कालीक पर्वतको गणराज्य व्यवस्था व्यवस्थित, सभ्य र जन उत्तरदायी रहेको बताउँनु हुन्छ ।

ऐतिहासिक उपन्यास भएका कारण तथ्य, तथ्याङ्क र तत्कालीन पर्वतीय भाषा चुनौतीपूर्ण रहेको बताउँनु भयो । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०७६’ का लागि सात वटा पुस्तकको सूची सार्वजनिक गरेको थियो ।

सूचीमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्म महारसको महारस निघण्टु, चन्द्रप्रकाश बानियाँको महारानी, ललित बिष्टको मोहपथ र शारदा शर्माको यात्रामा समावेश थिए ।

पुरस्कारका निम्ति गुठीलाई प्राप्त १५१ मध्ये सात पुस्तकलाई पुरस्कार छनोट समितिले रोजेको हो । त्यसमध्य पनि चन्द्रप्रकाश बानियाँको महारानी पुस्तकलाई २०७६ को मदन पुरस्कार प्रदान गरिने भएको हो ।

प्रायः ऐतिहासिक प्रसङ्गहरूको अध्ययन अनुसन्धान गरी लेख्न रुचाउने बानियाँले यो किताबमा पर्वतको एउटा ऐतिहासिक घटनालाई समेट्नु भएको छ । तत्कालीन चौबिसे राज्य पाल्पाको राजधानी बेनीबजारको पश्चिमखण्ड कुरिलाखर्कमा देवीको मन्दिर छ ।

जुन देवी महारानीको नामले प्रसिद्ध छिन् । महारानी त्यतै हराएकी हुन् भन्ने किंवदन्ती छ । सोही ऐतिहासिक र पौराणिक घटनाको गहन खोज अनुसन्धान गरी तयार पारिएको सो किताब गत माघमा विमोचन गरिएको थियो ।

कुराकानी विस्तृतमा भिडियोमा हेर्नुहोला


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com