४ आश्विन २०७७, आईतवार
  • तारा आचार्य

विराटनगर, ४ असोज । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको पार्श्वचित्र बार्षिक विकास कार्यक्रम पुस्तक सार्वजनिक गर्नुभएको छ ।

आइतवार विराटनगर स्थित मुख्यमंत्री तथा मन्त्रीपरिषद कार्यालयमा पुस्तक सार्वजनिक गर्दै मुख्यमंत्री राईले भावना र कल्पनामा भन्दा पनि तथ्यांकको धरातलमा उभिएर मात्र विकास र समृद्धि सम्भव हुने बताउनु भयो ।

उहाँले प्रदेशको पार्श्व चित्रलाई आधार बनाएर नीति कार्यक्रम र योजनाहरु निर्माण गरिने बताउनु भयो । उहाँले प्रदेश नं. १ अहिले पनि सक्षम र सबल रहेको पाश्र्व चित्रको तथ्यांकले देखाएको र अब अवलम्बन गरिने योजनाहरु यसैको सेरोफेरोमा हुने जानकारी दिनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र प्रदेश योजना आयोगले आयोजना गरेको सो कार्यक्रममा प्रदेशको कुल ग्राहस्थ उत्पादन ५ खरब ९५ अरब ७ करोड रहेको तथ्यांक सार्वजनिक गरिएको छ । यसैगरी प्रदेशको बजेट मध्ये सबैभन्दा बढी करिब ७६ प्रतिशत बजेट पूर्वाधारमा विनियोजन गरिएको पाइएको छ ।

सामाजिक सुरक्षालाई अहिले बढी प्राथमिकता राख्न आग्रह भईरहेको बेला प्रदेश १ को बजेट मध्ये ११ प्रतिशत सुखमा र करिब ८९ प्रतिशत बजेट समृद्धिका लागि छुट्याइएको छ ।

सो कार्यक्रममा बोल्दै प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोध प्याकुरेलले प्रदेशमा स्वचालित तथ्यांक प्रणाली आवश्यक भएको र तथ्यांकलाई आधार बनाएर विकास योजना र सामाजिक सुरक्षाका कार्यक्रमहरु ल्याउनुपर्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा प्रदेशका मन्त्री राज्यमंत्रीहरु, प्रमुख सचिव र संचारकर्मीहरुको उपस्थिति थियो भने अनलाइन माध्यबाट प्रदेशका विशिष्ट व्यक्तिहरुको सहभागित रहेको थियो ।

LIVE TV