३ आश्विन २०७७, शनिबार

काठमाडौं, ३ असोज । डा.गोविन्द केसीको जुम्लामा जारी पछिल्लो अनशन एक साता पुग्न लाग्दा पनि सरकारले संवादको कुनै पहल नगरेको भन्दै नेपाली कांग्रेसले गम्भीरता पूर्वक लिएको जनाएको छ ।

कांग्रेसले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै २०७५ साउन १० गते डा. केसीसँग सरकारले गरेको सम्झौता त्यही वर्षको माघमा सरकारले उल्लंघन गरेको नजिर नदोहो¥याएर ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन’का लागि माग गरेको छ ।

File Photo

चिकित्सा शिक्षा र कांग्रेस

जारी विज्ञप्तीमा २०४६ को परिवर्तन पश्चात् नेपाली कांग्रेसको सरकारको नीति र कार्यक्रमको जगमा दर्जनौं मेडिकल कलेजहरु स्थापित भएका उल्लेख गरिएको छ ।

साथै, चिकित्सा शिक्षा क्षेत्रको विसंगति अन्त्य गरेर सुधारका लागि नेपाली कांग्रेसकै नेतृत्वको सरकारले डा. केदारभक्त माथेमाको नेतृत्वमा उच्च स्तरीय कार्यदल निर्माण गरेर प्राप्त सुझाव बमोजिम सुधारका विविध कार्य अघि बढाइएका पनि जनाइएको छ ।

कांग्रेस नेतृत्वको पछिल्लो सरकारका पालामा आइपुग्दा डा. केसीका मागहरू पूरा गर्दै “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश–२०७४” सो बर्षको कात्तिक २४ मा जारी गरिएको थियो ।

तर, वर्तमान सरकारले त्यसलाई विस्थापित गरे पश्चात् एकातर्फ चिकित्सा शिक्षामा सुधारको विषयले सार्थक गति लिन नसकेको, अर्कातर्फ डा. केसीको सत्याग्रह फेरि पनि जारी रहेको उल्लेख गरिएको छ ।

कर्णाली र कांग्रेस

कर्णाली केन्द्रित रहेर पछिल्लो माग डा. केसीले अघि सारिरहँदा नेपाली कांग्रेस आफ्नो नेतृत्वको सरकारका पालामा कर्णालीको साविक अञ्चलमा भएका र गरिएका कार्यहरू स्मरण गरेको छ ।

करिब दुई दर्जन क्याम्पस, प्राय गाविसमा उपस्वास्थ्य चौकी, सुर्खेतबाट दैलेख र कालिकोट हुँदै जुम्ला भएर मुगु पुग्ने २३४ किमिको कर्णाली राजमार्ग ०४८ मा निर्माण शुरु गरेर ०६३ चैतमा सञ्चालन, साना जलविद्युत परियोजनाहरु, कर्णाली करिडोर, आम सञ्चारका माध्यमहरु, दर्जनौं सहकारी र बैंकहरु कांग्रेसको नीति र नेतृत्वमा कर्णालीको भूगोलमा एक हदसम्म ०४६ को परिवर्तन पश्चात् विस्तारित भएको उल्लेख गरिएको छ ।

संवादबाट समाधानमा पुग्न सकिने

मुलुकमा शान्ति स्थापना, संविधान निर्माण र तीन तहको निर्वाचन पश्चात् समृद्धिको यात्राका लागि तुलनात्मक रुपले सहज वातावरण निर्माण भएको पनि जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रदेश सभामा प्रतिपक्षीका रूपमा नेपाली कांग्रेसले डा. केसीको आवाजलाई निरन्तर प्रस्तुत गर्दै आएको र डा. केसीको अनशनले उक्त बिषयलाई बहसको केन्द्रमा स्थापित गर्न योगदान गरिरहेको पनि जनाएकको छ ।

LIVE TV