१ आश्विन २०७७, बिहीबार
  • सविन लामिछाने

तनहुँ, १ असोज । होम क्वारेन्टाइनको मापदण्ड पालना नगरी गाउँ डुल्दै हिँडेका एक कोरोना संक्रमित युवकलाई शुक्लागण्डकी नगरपालिकाले जरिवाना गरेको छ ।सोमबार कोरोना सङक्रमण पुष्टि भएका शुक्लागण्डकी नगरपालिका–११ का २३ वर्षीय युवकलाई पाँच हजार रुपैयाँ जरिवाना तोकिएको हो ।

भारतीय सेनामा कार्यरत ती युवा बिदामा घर आइ होम क्वारेन्टाइनमा बसेका थिए । शुक्रबार पीसीआर परीक्षणका लागि स्वाब दिएका ती युवकले रिपोर्ट नेगेटिभे आएको भन्दै गाउँ डुलेका थिए । उनको २९ गते पीसीआर परीक्षण रिपोर्ट आयो । रिपोर्टले उनमा कोरोना संक्रमण भएको पुष्टि भयो ।

संक्रमण भेटिएपछि युवकको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्दा उनले धेरै व्यक्तिसँग सम्पर्क गरेको खुलेको छ । साथी भाईसँग भेट्नुका अलावा उनले भोजभतेरमा समेत गएको खुलेको छ । ‘उनले ४० जनासँग सम्पर्क कायम गरेको भेटियो,’ स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले भने,‘घरमै बस्छु भनेर भनेका व्यक्ति भोजभतेरमा गएको पाइएपछि जरिवाना गरेका छौं ।’

लापरवाही गर्ने क्रम बढ्दै गएकाले सचेत बनाउन कारबाही गरिएको उनले बताए । सङ्क्रमित ती युवकको सम्पर्कमा आएका ४४ जनाको पहिचान भएको छ । उनीहरुको बिहीबार स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्न पोखरा पठाएको छ ।

 

LIVE TV