१ आश्विन २०७७, बिहीबार

काठमाडौं, १ असोज । प्रतिनिधिसभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिले प्रहरी हिरासत भएका व्यक्तिहरूको मृत्युबारे अध्ययन तथा छानबिन गर्न उपसमिति गठन गरेको छ ।सिंहदरबारमा बिहीबार बसेको समितिले देशका विभिन्न प्रहरी हिरासतमा भएका मृत्युका विषयमा अध्ययन गर्न उपसमिति गठन गरेको हो । अध्ययनका लागि ५ सदस्यीय उपसमिति गठन गरिएको र समितिमा रहने सांसदहरूको नाम दलका प्रमुख सचेतकहरूसँग सल्लाह गरेर तोकिने समिति सभापति कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो ।

समितिमा अध्ययन रिपोर्ट छिटोभन्दा छिटो बुझाउने गरी उपसमितिलाई कार्यादेश तोकिएको उहाले बताउनुभयो । बैठकले मानव अधिकार संरक्षण र संवर्द्धनका लागि संविधानले नै परिकल्पना गरेका महिला आयोग, समावेशी आयोग, दलित आयोग लगायतलाई यथाशीघ्र पूर्णता दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

त्यस्तै सांसदले बिभिन्न घटनाको अनुसन्धान गर्न आयोग बनेपनि प्रतिवेदन भने सार्वजनिक हुन नसकेको बताए । त्यस्तै प्रहरी हिरासतमा मृत्यु भएका व्यक्तिहरुको बारेमा अनुसन्धान हुनुपर्ने उनीहरुले धारणा राखे ।

LIVE TV