१ आश्विन २०७७, बिहीबार
  • रबिना बोहरा,

बागलुङ, १ असोज । लगातारको बर्षाका कारण बागलुङ जिल्लाका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोले हालसम्म ३७ जनाको मृत्यु भएको छ भने करोडौँ मूल्यको भौतिक क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार जिल्लामा मनसुन सुरु भएपछि हालसम्म ३७ जनाको मृत्यु, ५ जना घाइते भएका छन् भने १६ जना अझै वेपत्ता छन् । यस्तै जिल्लाभर १ अर्ब ३६ करोड ४८ लाख २४ हजार मूल्य बराबरको भौतिक क्षति भएको छ ।

सबैभन्दा बढी जिल्लाको पश्चिम क्षेत्र ढोरपाटन नगरपालिका ८ र ९ नम्बर वडामा मध्यरातमा आएको बाढीमा ज्यान गुमाउनेको संख्या बढी छ । केहीको अबिरल बर्षाले घर माथिबाट पहिरो आउदा घर पुरिएर मृत्यु भएको छ भने कतै चट्याङबाट पनि ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक राजेन्द्र रेग्मीले बताउनुभयो ।

बाढीले जनधनको क्षति हुनुका साथै विद्युत गृह, झोलुङगे पुल एवं विद्यालय पनि बगाएको छ । यता बाढीपहिरो प्रभावित क्षेत्रका बासिन्दा अहिले पनि उद्धारको प्रतिक्षामा छन् ।

खानका लागि समस्या नभएपनि बस्ने बास नै बाढी पहिरोले लगेपछि दैनिकी नै कष्टकर बनेको पीडितहरु बताउछन् । क्षणभरमै परिवारका सदस्य गुमाउनु परेको पीडा एकातिर भएपनि अर्कोतिर स्रोत र साधनको अभावमा उद्धार र राहतको समस्या भोग्नुपरेको उनीहरुको भनाइ छ ।

एकातिर कोरोना संक्रमणको महामारी छ भने अर्कोतर्फ बर्षाले पनि थप पीडा दिइरहेको छ । अहिले पनि अत्याधिक बर्षा हुँदा मन नै काप्ने गरेको बाढी पिडितहरु बताउछन् ।

मृतक परिवारलाई स्थानीय सरकार तथा जिल्ला विपद् व्यवस्थापन समितिले राहत रकम दिएको भएपनि घाइते परिवारलाई अझै समस्यामा छन् । केहीलाई पोखरा, केहीलाई काठमाडौँ समेत रिफर गरिएको छ ।

यता बाढी र पहिरोसहित विपद् व्यवस्थापनका लागि बढी जिम्मेवारी पाएका स्थानीय सरकारका प्रतिनिधिहरुले भने स्रोत र साधनको अभावले गर्दा समस्या भएको बताउदै आएका छन् ।

भौगोलिक कठिनाई, आवश्यक जनशक्तिको अभाव, प्रतिकूल मौसमसँगै अधिकार दिएपनि आवश्यक अनुसारको स्रोत साधन उपलब्ध नहुँदा समस्या भोगिरहेको बताउछन् ।

LIVE TV