
- दिलिप कुमार सहनी
सिरहा, १ असोज । समुदायस्तरमा कोरोना भाइरस (कोभिड- १९) को संक्रमण जोखिम न्यूनीकरण गर्न सिरहामा निःशुल्क मास्क बैंक स्थापना गरिएको छ।
कोभिड- १९को जोखिमबाट जोगिन मास्क अनिवार्य लगाउनुपर्ने भए पनि अधिकांशले मास्क प्रयोग नगरेकोले अनिवार्य मास्क प्रयोग गराउन सिरहा नगरपालिकाको सीमावर्ती क्षेत्र माड़रमा उक्त निःशुल्क मास्क बैंक स्थापना गरिएको हो ।
‘कोही नछुटौँ, कोही नचुकौं : नहुनेले लिनुस्, हुनेले दिनुस्’ भन्ने मुल नारासहित मास्क बैंक स्थापना गरिएको युवा अभियन्ता शशि कुमार मण्डलले जानकारी दिए।
कोभिड- १९ को संक्रमणबाट जोगिन मास्क अनिवार्य भए पनि लकडाउन खुकुलो भएसँगै बजार र घरबाहिर निस्कने अधिकांश व्यक्तिले मास्क प्रयोग नगरेको र जसकारण व्यक्ति स्वयं आफै संक्रमणको जोखिममा रहने गरेको, यसले अरुलाई पनि जोखिममा पार्न सक्ने सम्भावना बढ़ी रहेकोले प्रत्येक व्यक्तिले मास्क अनिवार्य प्रयोग गरून् भन्ने उद्देश्यले मास्क बैंकको स्थापना गरिएको अभियन्ता मण्डलले बतानुभयो ।
नेपाल सरकारले प्रत्येक व्यक्तिलाई मास्क प्रयोग गराउन प्रत्येक जिल्लाका जिल्ला प्रशासन कार्यलयमार्फत निर्देशन दिएकाे छ । मास्क नलगाएका व्यक्तिलाई प्रहरीद्वारा एक सय रुपैयाँ जरिवाना गरिने व्यवस्था रहे पनि उक्त जरिवाना हाल महामारीको बेला उपयुक्त र प्रभारकरी नरहेको र संकटमाथि जरिवानाजस्ता संकट थपिएको युवा अभियन्ता सिरहा युथ नेपालकी सचिव दिव्या कुमारी यादवले बताउनुभयाे । सय रुपैयाँ जरिवान मदजदूर, विपन्न र महिलाहरुले तिर्न नसकिने र उक्त सय रुपैयाँले दुई छाक भोक टार्न मद्दत पुग्ने भएकोले नि:शुल्क रुपमा मास्क वितरण गर्न थालेको अभियन्ता यादवले बताउनुभयाे ।