१ आश्विन २०७७, बिहीबार

एजेन्सी, १ असाेज । प्रि-सिजनको मैत्रीपूर्ण खेलमा क्याटलान क्लब बार्सिलोनाले जिरोनामाथि सहज जित निकालेकाे छ । गएराति भएकाे खेलमा बार्सिलाेनाले जिरोनामाथि ३-१ गाेलकाे सहज जित निकालेकाे हाे ।

र्बासिलोनालाई सहज जित दिलाउनकाे लागि कप्तान लियोनल मेस्सी र फिलिप्पे काउटिन्हो नायक बने ।जोन क्रुफ स्टेडियममा भएको खेलमा बार्सिलोनाको जितका लागि मेस्सीले दुई गोल गरे । त्यस्तै काउटिन्होले एक गोल र एक असिस्ट गरेका थिए । जिरोनाका लागि सामुएल साइजले एक गोल फर्काएका थिए ।

पहिलो रोजाईमा अनुभवी खेलाडी उतारेको बार्सिलोनाले खेलको सुरुवातदेखि नै बल पोसेसनमा पकड जमाउँदै जिरोनाविरुद्ध आक्रमण बुनेको थियो । खेलको २१ औं मिनेटमा बार्सिलोनाले अग्रता बनाएको थियो । ब्रानिलियन प्लेमेकर काउटिन्होले फ्रान्सिस्को ट्रिनकाओको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफमा अन्तिम मिनेटमा कप्तान मेस्सीले गोल गरे । उनले काउटिन्होको पासमा गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमा नै जिरोनाले गोल अन्तर घटाएको थियो । ४६ औं मिनेटमा जिरोनाका मिडफिल्डर सामुएलले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याएका थिए । तर, ५१ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे । उनले सर्जी रोबर्टोको पासमा गोल गर्दै बार्सिलोनालाई ३-१ गोलको सहज जित दिलाएका थिए ।

प्रशिक्षक रोनाल्ड कोम्यानले ६० औं मिनेटमा ९ खेलाडी परिवर्तन गर्दै युवा टोलीलाई मैदान उतारे । पछिल्लो टोलीले गोल निकाल्न नसकेपनि प्रदर्शनको तुलनामा भने सुधार ल्यायो । आक्रमणमा थप गति र शक्ति देखिएको युवा टोलीले लगातार अवसर भने सिर्जना गरेको थियो ।

 

LIVE TV