गरुडा हत्या काण्ड : तीन जनालाई पुर्पक्षको लागि थुनामा राख्न अदालतको अनुमति



प्रकाशित मिति : Sep 16, 2020
  • बालबिक्रम कार्की

रौतहट, ३१ भदौ । जिल्ला अदालत रौतहटले साउन ३१ मा भएको गरुडा हत्या काण्डका तीनजनालाई पुर्पक्षको लागि थुनामा राख्न अनुमति दिएको छ ।

गरुडा नगरपालिका वडा नं ८ जिंगडीयाका २० वर्षीय निरन्जन रामका धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अभियोगमा पक्राउ परेका ७ जनामध्ये ३ जनालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको दिएको हो ।

हत्याको मुख्य योजनाकार दावी गर्दै पीडित परिवारले किटानी जाहेरी दिएका सच नर्सरी सञ्चालक राजाराम साह भने साधारण तारेखमा रिहा भएका छन् । साहका विरुद्ध वलियो प्रमाण नभएको भन्दै अदालतले साधारण तारेखमा छाडेको प्रहरीले जनाएको छ ।

आज सकिएको थुनछेक बहसमा जिल्ला अदालतले हत्या आरोपमा पक्राउ परेका गाउँकै अर्जुन राम, अजयकुमार रन्जन र शेख आजादलाई जिल्ला अदालत गौरले मंगलबार पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठले बताउनुभयो ।

यसैगरी सोही घटनाको आरोपमा पक्राउ परेका घट्नामा पक्राउ परेको १९ वर्षीय विवेकराय यादवको उमेरका कारण सुधारगृह केन्द्र पठाउने आदेश भएको श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै अर्का अभियुक्त सकिन्द्र पासवानको स्वास्थ्य अवस्था ठिक नभएकाले उनलाई उपचारका लागि अस्पताल पठाउने र ठिक भएपछि अदालत पेश गर्ने आदेश दिएको श्रेष्ठले बताउनुभयो ।

स्वास्थ्यमा समस्या आएपछि पासवानले अदालत समक्ष वयान दिन नसक्ने भएकाले उनलाई उपचार गराउने आदेश भएको हो ।

उता मृतका परिवारका सदस्यहरुले प्रहरीले मुख्य अभियुक्त सच नर्सरीका संचालक राजाराम साह, उनका बुबा लखन साह र भाइ राजगिर साहलाई हत्याको आरोपबाट उन्मुक्ती दिन खोजेको आरोप लगाउँदै उनीहरु पक्राउ गरेर छानविन गर्नुपर्ने माग राख्दै आएका छन् ।

हत्या गरिएका निरंजन रामका बुबा नन्दराम महराले राजाराम साह, लखन साह, राजगिर साह र शेख आजाद विरुद्ध किटानी जाहेरी दिएका छन् ।

पीडित परिवारका अनुसार प्रहरीले रामको हत्याराको रुपमा सार्वजनिक गरेका ७ जनामध्ये राजाराम साह र शेख आजाद मात्र दोषी रहेको र बाँकी सबै निर्दोष रहेका छन् ।

सोही हत्याकाण्डमा पक्राउ परेका विजय रामको भने प्रहरी हिरासतमा चरम यातना पश्चात नेशनल मेडिकल कलेज बिरगंजमा उपचारको क्रममा भदौ ११ गते मृत्यु भएको थियो ।

हाल उनको शव शिक्षण अस्पतालमा रहेको छ । पीडित परिवारले घटनामा संग्लंन सम्पूर्ण प्रहरी अधिकारीहरुलाई कारवाही नगरेसम्म शव नबुभ्mने बताउँदै आएका छन् ।

निरंजन राम विजय राम हत्याकाण्ड संघर्ष समितिका संयोजक सोनेलाल रामले अदालतको फैसला आफूहरुलाई चित्त नबुझेको भन्दै असोज २ गतेदेखि चरणवद्ध आन्दोलनको कार्यक्रम गर्ने बताउनुभयो ।

उहाँले आफुहरुले निरंजन राम र विजय रामको न्यायको लागि लडाइँ लडिरहेको जनाउँदै उहाँले जबसम्म न्याय मिल्दैन् र वास्तविक दोषीलाई कारवाही हुँदैन तबसम्म आन्दोलन जारी राख्ने जनाउनुभयो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com