३० भाद्र २०७७, मंगलवार

कर्णाली, ३० भदौ । कर्णाली प्रदेशमा पुनः आज २८ सङ्क्रमित थपिएका छन् । त्यससँगै कोरोना भाइरसबाट सङक्रमित हुने सङ्ख्या कर्णालीमा दुई हजार ८६३ पुगेको छ ।

कर्णाली प्रदेश अस्पताल र पशुपक्षी तथा रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा २२, वीरेन्द्रनगर नगरपालिका तथा दैलेख, बझाङ, सर्लाही, बाँके र दाङका एक/एक जना कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले जानकारी दिए ।

त्यस्तै चौरजहारी नगरपालिका प्रयोगशालामा गरिएको परीक्षणमा सल्यान कुमाख गाउँपालिकाका एक व्यक्तिमा सङक्रमण पुष्टि भएको महाशाखा प्रमुख शाहीले बताए ।

“सङ्क्रमित हुने र निको हुनेको सङ्ख्यामा त्यति अन्तर छैन”, उनले भने । त्यसैगरी कर्णालीमा आजै कोरोना जितेर घर फर्कनेको सङ्ख्या ३९ रहेको छ । यससँगै प्रदेशमा कोरोना सङ्क्रमणबाट मुक्त हुनेको संख्या दुई हजार ५७० पुगेको छ । हाल २८७ सक्रिय बिरामी रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

प्रदेशसभा सदस्य श्रेष्ठ कोरोना सङ्क्रमणमुक्त

कर्णाली प्रदेशसभा सदस्य दीनबन्धु श्रेष्ठ कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ । उहाँ १० दिनसम्म आइसोलेशनमा बस्नुभएको थियो ।

१० दिनपछि पुनः गरिएको आरटी पीसीआर परीक्षणमा श्रेष्ठको कोरोना रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा मङ्गल रावलले जानकारी दिए ।

निर्देशक डा रावलका अनुसार सदस्य श्रेष्ठमा सङ्क्रमण देखिए पनि लक्षण कुनै देखिएको थिएन । प्रदेशसभा श्रेष्ठले कोरोनाको कुनै पनि उपचार नभएका बेला नागरिकको शुभेच्छा, हौसला र मायाले कोरोना जित्न सफल भएको बताए ।

जनस्वास्थ्यका मापदण्ड अवलम्बन गर्न सबैलाई सुझाउँदै उहाँले यसबाट बच्न पूर्वसावधानी आवश्यक रहेको जनाए । सदस्य श्रेष्ठले आफूप्रति स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

LIVE TV