३० भाद्र २०७७, मंगलवार
  • बालबिक्रम कार्की

रौतहट, ३० भदौ । कुनै समय हजारौँ मानिसले भरिभराउ रौतहटका क्वारेन्टाइनहरु अहिले खाली भएका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटको सोमबारको तथ्याङ्कअनुसार रौतहटमा क्वारेन्टाइनमा बस्नेको संख्या शुन्य रहेको छ ।

केही महिना अगाडिसम्म जिल्लाका विभिन्न पालिकाहरुले सञ्चालन गरेका क्वारेन्टाइनमा एकैपटक हजारौँ बढी मानिसहरु बसेका थिए । विशेषगरी भारतबाट मजदुरी गरेर जिल्ला फर्किएकाहरुले क्वारेन्टाइन भरिएका थिए ।

सुरुमा क्वारेन्टाइनमा बस्नेहरुको संख्या थोरै रहे पनि जेठको पहिलो सातादेखि यो संख्या ह्वातै बढेको थियो । भारतमा लकडाउन खुकुलो गरेर रेल सञ्चालनमा आएपछि नै भारतमा मजदुरी गर्न गएका जिल्लावासीहरु जिल्ला फर्कन थालेपछि क्वारेन्टाइनहरु भरिन थालेका थिए । जिल्लाका जेठ ७ गते क्वारेन्टाइनमा बस्नेको संख्या हजार नाघेको थियो । सो दिन जिल्लाका विभिन्न क्वारेन्टाइनमा बस्नेहरुको संख्या १ हजार ७८ रहेकोमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी जेठ १४ गते यो संख्या बढेर ४ हजार १६६ जना पुग्दा १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जिल्ला प्रशासन कार्यालय रौतहटको तथ्याङ्क अनुसार जिल्लामा सबैभन्दा बढि जेठ २० गते ८ हजार १०५ जना क्वारेन्टाइनमा रहेका थिए । सो दिनसम्म जिल्लामा ३ सय ७ जनामा संक्रमण पुष्टि भएको छ । यसरी क्वारेन्टाइनमा बस्नेहरुको संख्या बढेसँगै उनीहरुको व्यवस्थापनमा पनि स्थानिय पालिकाहरुलाई ठुलो चुनौति बनेको थियो । एकैसाथ धेरै मानिसहरु क्वारेन्टाइनमा बस्नुपर्दा खाना, बस्न, शौचालय लगायत विभिन्न समस्याहरु सृजना भएका थिए । स्थानिय पालिकाहरुले आफ्नो पालिकाहरुमा रहेका अधिकासं विद्यालय र मदरसाहरुलाई क्वारेन्टाइन बनाएर मानिसहरु राखेका थिए । अझ स्वाब परिक्षणको रिर्पोट समयमा नआउँदा क्वारेन्टाइनमा बस्नेहरु आन्दोलित भएर क्वारेन्टाइन बाहिर निस्केर प्रदर्शन गर्दा प्रहरीले बल प्रयोग गर्नुपर्ने अवस्था सृजना भएको पनि थियो ।

स्वाब संकलन गरेर पठाएको दुई सातासम्म पनि रिपाेर्ट नआउँदा उनीहरु एक महिनासम्म क्वारेन्टाइनमा बसिरहनुपर्दा आन्दोलित भएका थिए । क्वारेन्टाइनमा बस्नेहरुको संख्यामा असारको पहिलो सातादेखि भने कमी आएको थियो । भारतबाट फर्कने क्रममा कमी अनि संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसन र नेगेटिभ आएकाहरुलाई घर फर्काएसँगै यो क्रममा कमी हुँदै आएको हो ।

एकैसाथ हजारौँ मानिसहरुलाई क्वारेन्टाइनमा व्यवस्थापन गर्नु, उनीहरुको स्वाब संकलन गरेर परिक्षण गर्न पठाउनु अनि संक्रमितहरुलाई आइसोलेसनमा राखेर उपचार गर्नु निकै चुनौतिपूर्ण रहेपनि स्थानिय पालिकाहरु, जनप्रतिनिधि, प्रहरी, प्रशासन, स्वास्थ्यकर्मी , स्थानियवासी लगायत सबैको सहयोगमा सफलतापूर्वक गर्न सकेको स्मरण गर्नुहुन्छ तत्कालिन प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे ।

हाल भारतबाट आउने क्रम बन्द भएको र संक्रमतिहरुको कन्ट्याक ट्रेसिङ्गमा परेकाहरु पनि संस्थागत क्वारेन्टाइनभन्दा होम क्वारेन्टाइनमै बस्ने गरेकाले क्वारेन्टाइनहरु खाली भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको भनाइ छ । उहाँले कन्ट्याक ट्रेसिङ्गमा परेकाहरु, बाहिरी मुलुकबाट जिल्ला आएकाहरु, लक्षण देखिएकाहरु पनि नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरेर घरमै क्वारेन्टाइनमा बस्न रुचाएकाले संस्थागत क्वारेन्टाइन खाली भएको बताउनुभयो ।

सोमबारसम्म जिल्लामा १ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १ हजार ५६२ जना कोरोना मुक्त भइसकेका छन् भने ५ जनाको निधन भएको छ । जिल्लामा हालसम्म १३ हजार ३०७ जना क्वारेन्टाइनमा बसेर घर फर्किसकेका छन् ।

LIVE TV