वीरगञ्जमा कोरोना संक्रमणबाट थप २ महिलाको मृत्यु



प्रकाशित मिति : Sep 14, 2020
  • हरिशंकर शर्मा

पर्सा, २९ भदौ । कोरोना संक्रमणको कारण वीरगञ्जमा थप २ जनाको मृत्यु भएको छ । बारा जिल्लाको डुमरवाना – १४ निवासी ५५ वर्षीया र वीरगन्ज – १० पिपरा निवासी ५५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।उनका अनुसार बारा जिल्ला डुमरावाना निवासी सुगरको विरामी महिला स्वास्थ्यमा समस्या आएपछि भदौ २९ गते नारायणी अस्पतालको आईसियू कक्षमा भर्ना भएकी थिइन् । उपचार भइरहेको उनको साँझ ७ः१५ मा मृत्यु भएको बताइएको छ । कोरोना संक्रमणको लक्षण रहेका ति महिलालाई जेनरल एक्सपोर्टबाट पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

यसरी नै अर्का वीरगञ्जका पिपरा निवासी ५५ वर्षीया महिलाको आइतबार राति २ः५५ बजे मृत्यु भएको थियो । अस्पतालले सोमबार विहान ११ः२१ बजे उनको मृत्यु भएको सार्वजनिक गरेको थियो । स्वास्थ्यमा समस्या आएपछि भदौ २१ गते गण्डक अस्पतालमा भर्ना भएकी महिलामा भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । गण्डक अस्पतालको आईसियू कक्षमा राखेर उपचार भइरहेको उनको भदौ २८ गते राति २ः५५ बजेको समयमा मृत्यु भएको डा. चौरसियाले बताए ।

कोरोना संक्रमितहरुको मृत्यु उपचारको अभावमा र चिकितसकको लापरवाहीको कारण भएको आरोप लागेको छ । आइतबार राति २ः५५ मा मृत्यु भएकी महिलाको ज्यान अक्सिजन नपाएर गएको जनाइएको छ । विगत ४ दिनदेखि अर्का संक्रमित सानो पाइला संस्थामा कार्यरत एक व्यक्तिले उनीलाई राति – राति अक्सिजन चढाउँदै आएका थिए । ति संक्रमित आइतबार निको भएर डिस्चार्ज भएपछि महिलालाई अक्सिन चढाइदिने कोही नभएको कारण मृत्यु भएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com