२९ भाद्र २०७७, सोमबार

एजेन्सी, २९ भदौ । संसारभरि विरोध प्रदर्शनको समाचार सङ्कलनका लागि खटिएका पत्रकारमाथि आक्रमणका घटना बढेको संयुक्त राष्ट्रसंघीय निकाय, यूनेस्कोले बताएको छ ।प्रहरी र अन्य सुरक्षाकर्मीले पत्रकारलाई नै मुख्य अपराधीका रूपमा पत्रकारमाथि दुव्यवहार गर्ने गरेको यूनेस्कोको ठहर छ । यो वर्षको जनवरीदेखि जुनसम्ममा विरोध प्रदर्शनका क्रममा समाचार सङ्कलनका लागि खटिएका पत्रकारलाई आक्रमण, पक्राउ वा हत्या गरेका घटना २१ रहेको यूनेस्कोको तथ्याङ्कमा उल्लेख छ ।

 

सञ्चार क्षेत्रका गतिविधि अनुगमनसमेत गर्ने जिम्मेवारी रहेको राष्ट्रसंघीय निकाय यूनेस्कोले आफ्नो प्रतिवेदनमा भनेको छ, “प्रहरी तथा अन्य सुरक्षा बलले विगत पाँच वर्षमा गैर–कानुनीरूपमा पत्रकारमाथि हस्तक्षेप गरेको घटना बढ्दो क्रममा रहेको छ ।”

सन् २०१५ देखि सन् २०२० बीचमा भएको प्रदर्शनमा कम्तिमा १० जना पत्रकार मारिएका प्रतिवेदनमा उल्लेख छ । यो अवधिमा विश्वका विभिन्न ६५ मुलुकमा प्रहरी वा सुरक्षा बलबाट समाचार सङ्कलनका लागि खटिएका पत्रकारमाथि आक्रमण वा पक्राउ भएका घटना १२५ रहेको युनेस्कोले जनाएको छ ।

विगत पाँच वर्षमा समाचार सङ्कलनका क्रममा मारिएका पत्रकारहरू सिरिया, मेक्सिको, इजरायल, निकारागुआ, उत्तरी आयरल्यान्ड, नाइजेरिया र इराकका रहेको यूनेस्कोको तथ्याङ्कमा उल्लेख छ ।

LIVE TV