२९ भाद्र २०७७, सोमबार

जनकपुरधाम, २९ भदौ । बहुजन शक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले केपी ओली नेतृत्वको सरकारले देशमा राणा शाषणको जस्तो कार्यशैली प्रदर्शन गरिरहेको आरोप लगाएका छन् ।

सोमबार जनकपुरमा पत्रकार सम्मेलनको आयोजना गरि पूर्वमन्त्री पासवानले ओली नेतृत्वको सरकारले जनतालाई भेडाबाख्रा सम्झिरहेको आरोप लगाउँदै त्यसमा प्रदेश २ सरकारले पनि साथ दिइरहेको जिकिर गर्नुभयो ।

यहाँले भन्नुभयो ,‘जनता हत्या हिंसाको शिकार भईरहेपनि सरकारका मन्त्री र सांसदहरु आनन्दको जिवन बिताईरहेका छन् । प्रदेश २ सरकारले जनताको जिवनसँग समेत खेलवाड गरिरहेको छ ।’

सरकारले नै जनताको हत्या गराईरहेको आरोप लगाउँदै नेता पासवानले देशमा मुस्लिम, दलित, जनजाती, पिछडावर्ग, महिला कोही सुरक्षित नरहेको जिकिर गर्नुभयो ।

प्रहरी प्रशासनको कार्यशैलीप्रति असन्तुष्टि जनउँदै उहाँले केपी ओलीको सरकारले प्रहरीलाई गुण्डा बनाएर राखेको आरोप लगाउनुभयो ।

मुख्यमन्त्री लालबाबु राउत रौतहट घटनामा संलग्न प्रहरी अधिकारीहरुलाई निलम्बन गर्ने पक्षमा नरहेको भन्दै उनले मुख्यमन्त्री समेत गुण्डाको पहरेदार भई मुकदर्शक बनेर बसेको आरोप लगाउनुभयो ।

प्रहरीको थुनाभित्र मृत्यु भएका विजय रामको हत्यारालाई कारवाहीको माग गर्दै आमरण अनसनमा बसेका बेला आफूलाई प्रहरीले होटलमा बन्दी बनाएको आरोप समेत उहाँले लगाएका छन् । उहाँले कोरोनाको बहानामा आफूलाई राज्यले मार्ने प्रयास गरेको आरोप लगाउनभयो ।

त्यसबेला आफू घर जान खोज्दा घर समेत जान नदिएको उहाँले बताउनुभयो । रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालय अगाडि आमरण अनसन बसेका उनलाई १८ भदौको राति प्रहरीको टोलीले धरान पु¥याएको थियो । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि प्रहरीले उनलाई धरान लगि उपचार गराएको थियो ।

सिरहामै स्वाब संकलन गरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

रिपोर्ट नेगेटिभ आउँदा पनि होटलको एउटा कोठाभित्र आफुलाई जर्बजस्ती राखिएको उहाँको भनाइ छ । पत्रकार सम्मेलनमा पूर्वमन्त्री पासवानले राज्यको यस्तो राणाशासनको जस्तो कार्यशैलीलाई आफुहरुले चाँडै परास्त गर्ने दाबी गर्नुभयो ।

उहाँले राज्यसँग लड्नका लागि निकट भविष्यमै बहुजन शक्ति पार्टीले भिम सेनाको गठन गर्ने उदघोष समेत गर्नुभयो ।

LIVE TV