कविता : परदेशी म



प्रकाशित मिति : Sep 14, 2020

  • सम्झना भुजेल

गाउँको दुई-चार पाटा पाखो बारी
न सिजनको बीउ, न मल, न बजार
वर्षभरि दु:ख गरे’नि खान पुगेन,
गरिबीले जन्मभूमि टिक्न दिएन ।

त्यहीँ बारी धितो राखेर
रोगी आमा र प्रियसीलाई छाडेर
बुवाको फाटेको दौरा सिलाउन
छोरालाई अक्षर चिनाउन
परदेशिएको हुँ म

मेरा पनि थिए आफन्त
सानो भए पनि आफ्नो घर थियो,
म नागरिक थिएँ
मेरो देश थियो ।

बालापनमा देशको सेवा गर्छु भन्दै सपना देख्ने म
जवानी बेच्न परदेश आएँ,
हरियाे पासपाेर्ट बाेकेर म परदेशी भएँ ।

परदेशको दु:ख सुन्दा
आमाले फर्क भन्छिन्,
प्रियसी जेनतेन गुजारा चलाउँला भन्छिन्,
तर के गर्नु ?
हातमुख जोर्नुकाे आवश्यकता उस्तै छ
धन कमाउनुपर्ने बाध्यता उस्तै
महँगीले झन गाँजेको छ,
जिम्मेवारीले गालेको छ,
अब दु:ख सहने बानी लागिसक्याे ।

म त्यही देशको नागरिक हुँ
जहाँ दशैँमा बाआमाले
आशीर्वाद दिँदै लगाइदिने टीकाको चामल किन्न
परदेशिनेहरूको लहर छ,
शुभ साइतमा खुवाउने दहीको कामनामा
बेरोजगारीको कहर छ ।

हो, देश भएर पनि परदेशिएको म,
सम्झना आउछ ती दिन-
पेटभरि खान नपुगे’नि
मेरा बाले पाखो बारीको तिरो तिरेकै थिए,
न्यानो लुगा नलगाई मट्टीतेल किनेर
उज्यालो दिएकै थिए,
त्यहीँ बेला ‘नयाँ नेपाल’ बनाउनेहरू आए
रगत तात्ने नारा लगाए,
पसिनाको मूल्य पाउने बताए ।

नयाँ नेपालकाे सपना देख्दै
धेरै नौजवानले रगत बगाए,
मजस्तै कैयाैँ चाहिँ पसिना बगाउन
परदेशआए ।

त्यतिवेलादेखि नै म
ज्यानको बाजी लाएर पसिना बगाइरहेछु परदेशमा
मूल्य म आफू बस्न नसकेको देशमै पठाउछु
नयाँ नेपालका नारा लगाउनेहरुलाई पाल्न सघाउछु,
तर भविष्य झन् अन्धकार पाउछु ।

छाडिआएको पाखो बारी बाँझै छ,
स्वदेशमा केही गर्छु भन्नेको बारीमै तरकारी कुहिन्छ,
रोगी आमा र कुपोषित सन्तानको देशमा अण्डा र दूध फालिन्छ,
वर्षभरि दु:ख गर्ने किसान भोकले छट्पटिँदै मर्छ,
अनि त दिनमा हजारौं पासपोर्ट छापिन्छ,
मजस्तै नौजवान परदेशिन्छ ।

भोग्नेलाई मात्र थाहा छ
मैले झैँ परदेशिँदा साहु गुहारेको,
स्वदेश फर्कन पाउँ भनी भगवान पुकारेको,
आफन्तको सपना र जिम्मेवारी
काठकाे बाकसमा आएको ।

परदेशमा रहेर देशको प्रगतिकाे कामना गर्ने
म एक परदेशी,
तर सुन्छु जहिल्यै- नयाँ नेपालकाे नारा मात्र
बनाउछु भन्नेहरूले
खाेक्राे राष्ट्रियताको गीत गाउँछन्,
स्वाभिमानको नारा लगाउछन्,
सरकारमा बसेपछि जनताकाे पीडा बिर्सिदिन्छन्,
आफू बेचिएर परिवार र सरकार पाल्न
परदेशिएका मजस्ता लाखाैँ नाैजवानकाे
पसिनाकाे मूल्यले खै कहिले बन्ला मेराे देश !


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com