२८ भाद्र २०७७, आईतवार
  • भगतराम थारु,

नेपालगञ्ज, २८ भदौ । जिल्ला प्रहरी कार्यालय बाँकेले रेड पाण्डाको छालासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

बाँकेको बैजनाथ गाँउपालिका १ स्थित गगन थारुको डेनियाल रेष्टुरेन्टमा रेड पाण्डाको छाला खरिद विक्री गरिरहेका अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले देव बहादुर बाठा, ईन्द्र बहादुर नेपाली, गणेश बि.क., जय बहादुर बि.क. र कृष्ण वलीलाई नियन्त्रणमा लिएर आइतबार सार्वजनिक गरेको हो । गोप्य सूचनाको आधारमा उक्त रेष्टुरेन्टमा प्रहरीले छापा मारेको जनाइएको छ ।

खानतलासी गर्ने क्रममा कोठाको खाट मुनी राखिएको अवस्थामा नङ्ग्रा, दाँतसहितको रेड पाण्डाको छाला बरामद गरिएको बाँकेका प्रहरी प्रमुख ओम बहादुर रानाले जानकारी दिए ।

प्रहरीका अनुसार घटनामा संलग्न ईन्द्र बहादुर नेपालीले जाजरकोटका लोकेश सिंहबाट उक्त छाला १ लाख नगदमा खरिद गरेका थिए ।

नेपालीको सहयोगमा खरिद गरिएको उक्त छाला कृष्ण वली, गणेश वि.क. लगायतले सुर्खेतको छिन्चुबाट ४० लाखमा बिक्री गर्ने उद्धेश्यले बाँके ल्याएका थिए ।

सोही छालाको खरिद बिक्री हुँदै गर्दा प्रहरीले घटनामा संलग्न पाँच जतालाई नियन्त्रणमा लिएको बताएको छ । नियन्त्रणमा परेका सबैजनामाथि थप अनुसन्धान सुरु गरीएको प्रहरीले जनाएको छ ।

LIVE TV