२८ भाद्र २०७७, आईतवार
  • उत्तम पौडेल,

पोखरा, २८ भदौ । पोखराको फिस्टेल अस्पतालमा (हिजो) शनिवार एक जनाको मृत्यु भयो । ब्लड क्यान्सरका कारण अस्पताल भर्ना भएका उनको शनिवार मृत्यु भएपछि अस्पतालले मृतकको शव निकाल्न तथा सतगत गर्न परिवारलाई अनुमति दियो ।

मृतकको ब्लड क्यान्सरका कारण मृत्यु भएको भन्दै शनिबार नै परिवारका सदस्य तथा आफन्तहरुले हिन्दू परम्परा अनुसार दाहसंस्कार गरेका थिए । तर, दाहसंस्कार गरेलगत्तै मलामी गएका र भेटघाटमा जुटेका करिब २०० जना आइसोलेसनमा बस्न बाध्य भएका छन् ।

मृतकको अन्तिम दाहसंस्कार गरिसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आएको कारण मलामी गएका र भेटघाटमा जुटेका करिब २०० जना आइसोलेसनमा बस्न बाध्य भएका हुन् । गत, बुधवार स्वास्थ्यमा समस्या आएपछि पोखराकी एक महिलालाई अस्पताल लगिएको थियो ।

उनको पीसीआर परीक्षण विहीबार गरियो र शनिवार मात्र उनको रिर्पाेट पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले परिवार र अस्पताललाई जानकारी गरायो ।

उनको अन्तिक दाहसंस्कार गरिसकेपछि मात्रै कोरोना संक्रमण भएको पुष्टि भयो । त्यसैले मृतकलाई अस्पतालमा भेट्न गएका र मलामी गएका करिब २०० जना होम आइसोलेशनमा बसिरहेका छन् ।

गण्डकी प्रदेश सभाका २ सदस्यसहित केही डाक्टर र पोखराका प्रतिष्ठित ब्यक्तिहरु पनि होम आइसोलेसनमा बसिरहेका छन् । कोरोना रोकथाम तथा नियन्त्रण समितिको प्रोटोकल अनुसार मलामी जानका लागि कोभिडको संक्रमणकालीन समयमा २५ जना भन्दा धेरै जान पाइदैन ।

तर, उक्त निर्णयलाई प्रदेश सरकारका सदस्यलेनै नमान्दाले प्रदेश सदस्य पनि आइसोलेशनमा बस्नुपर्ने अवस्था आएको हो ।

प्रदेश क्षेत्रीय स्वास्थ्य निर्देशनालय गण्डकीले हरेक दिनको स्वाब कलेक्सनमा पेन्डिङ्ग रिर्पार्ट अर्थात् रिर्पाेट आउन बाँकी नरहेको भन्दै आफ्नो वेब साइटमा अपडेट गराउने गरेको छ । तर, हरेक दिन पचासौको संख्यामा पेन्डिङ्ग रिर्पाेट हुने गरेका छन् ।

रिपोर्ट आउन ४८ देखि ७२ घण्टा लाग्ने गरेको पाइएको छ । यसरी निर्देशनालयले रिपोर्ट समयमा नदिने भएका कारण केहीको उपचारको क्रममा मृत्यु हुने गरेको र मृत्युपछि मात्र कोरोनाको रिपोर्ट आउने गरेको पाइएको छ ।

शनिबारको २०० जना मलामी तथा आफन्तको पीडा पनि त्यस्तै रहेको छ । मृतकको परीक्षण रिपोर्ट तत्काल आएको भए करिब २०० जनाको ठूलो संख्यामा होम आइसोलेशनमा बस्नुपर्ने स्थिति आउने थिएन ।

LIVE TV