२८ भाद्र २०७७, आईतवार
  • यामराज कटुवाल,

दैलेख, २८ भदौ । ठाटीकाँध गाउँपालिका–४ गैरागाउँका पहिरो पीडितलाई सहयोग गरिएको छ । पहिरोले सर्वस्व गुमाई विस्थापित भएका र पहिरोको उच्च जोखिममा परेका घर परिवारहरुलाई सहयोग गरिएको हो ।

डीसीए नेपालको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले सहयोग उपलब्ध गराएको हो । पहिरोले घरबारी गुमाएका ७ घरपरिवारलाई प्रतिपरिवार १५ हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराइएको संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए ।

पहिरोका कारण उच्च जोखिममा रहेका परिवारका लागि ५८ वटा पाल, ३० सेट ओड्ने ओच्छ्याउने (सिरक, तन्ना, डसना र सिरानी) र एक सय ५९ मिटर पिफर्म हस्तान्तरण गरिएको थापाले बताए ।

संस्थापक अध्यक्ष थापा, सल्लाहकार समितिका संयोजक सीता राना लगाएतको टोलीले ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र वडाध्यक्ष रमेशबहादुर सिजापतीलाई सामग्री हस्तान्तरण गरेका छन् ।

उक्त गाउँमा भदौ २ गते राति परेको अविरल वर्षाका कारण पहिरो गएको थियो । पहिरोमा परी दुई बालकहरु जनक कठायत र लोकेश कठायतको मृत्यु भएको थियो । पहिरोमा परी ७ जना घाइते भएका थिए ।

घाइतेमध्ये दुई जना उपचारकै क्रममा छन् । पहिरोले ७ घर पूर्ण रुपमा ध्वस्त भएको वडाध्यक्ष रमेशबहादुर सिजापतीले बताए । ‘पहिरोले गैरागाउँका ९० घरका नागरिक विस्थापित भएका छन्, गाउँका ८१ घर पहिरोको उच्च जोखिममा परेको छ’, वडाध्यक्ष सिजापतिले भने ।

पहिरोले सर्वस्व गुमाई विस्थापित भएकाहरु अहिले डाडाँमा पाल र आफन्तको घरमा शरण लिइरहेका छन् । ‘पहिरोले करोडौको क्षति भएको, स्थानीयले बास उजाडिएको छ, वडाध्यक्ष सिजापति भन्छन् ‘पहिरोले विस्थापित नागरिकलाई कहाँ राख्ने भन्ने समस्या भएको छ, सरकारले एकीकृत बस्ती बसाल्न पहल गर्नुपर्छ ।’

ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीका अनुसार बर्षातका कारण गाउँपालिकाभर ७३ घरहरु भत्किएर नागरिकहरु विस्थापित भएका छन् । यस्तै गाउँपालिका भर ६ सय ७ घर पहिरोको उच्च जोखिममा परेको अध्यक्ष शाहीले बताए ।

विपद्मा परेका नागरिकहरुलाई सरकारी तथा गैरसरकारी निकायहरुले सहयोग प्रदान गरिरहेका अध्यक्ष शाहीले बताए ।

‘पहिरोका कारण विस्थापित नागरिकहरुलाई एकिकृत बस्ती विकास गर्न सात स्थानलाई पहिचान गरेका छौ,’ अध्यक्ष शाहीले भने ‘अब तत्कालै प्रारम्भिक अध्ययन थाल्छौ ।’ अध्यक्ष शाहीले बस्ती विकासका लागि सहयोग गर्न सहकारी दाताहरुलाई आग्रह गरे ।

LIVE TV