२८ भाद्र २०७७, आईतवार
  • उत्तम पौडेल,

पोखरा, २७ भदौ । कास्की कांग्रेसका निष्ठावान नेता भोेजबहादुर गुरुङ्ग “सिकन्दर”को आज निधन भएको छ । पोखराको जीएमसी अस्पतालमा उनको आज दिउँसो निधन भएको उनको परिवारले जनाएको छ ।

सिकन्दर वीपी कोइरालाको पालादेखि शेरबहादुर देउवाको राजनीतिक यात्रामा सँगै यात्रा तय गरेका नेताको रुपमा चिनिन्छन् । कास्कीको भदौरेमा जन्मेका नेता सिकन्दर राजनैतिक बृत्तमा निःस्वार्थ नेताको रुपमा परिचित पनि छन ।

राजनीति गरेर लाभ लिने परिपाटी बढिरहेको सन्र्दभमा उनको निःस्वार्थ छविले धेरैलाई प्रेरणा मिलेको उनका समकक्षीहरु बताउँछन् । नेपाली कांग्रेस कास्कीको क्षेत्र नं ३ बाट प्रदेशसभा सदस्यको टिकट पाएका उनी पैसा खर्च नगरी चुनाव लड्ने नेताको रुपमा चिनिन्छन् ।

खर्च गरेर चुनाव लड्नेले जनताको सेवामा भन्दा खर्चेको पैसा उठाउनतर्फ ध्यान केन्द्रित हुने भन्दै उनी चुनावी मैदानमा चिउरा मकै खाएर चुनाव लडेका नेता मध्येका एक हुन् ।

शेर बहादुर देउबाको निकट मानिएका सिकन्दरले देउवा पार्टी सभापति भइरहँदा पनि कहिल्यै लाभ लिएनन् । आफू चुनावमा लड्नु भन्दा अबको पुस्तालाई चुनावको मैदानमा उतार्नुपर्छ भन्ने सोच राखेका सिकन्दरले चुनाब हारे पनि जनताको मन जितेका थिए ।

उनको गुरुङ्ग परम्परा अनुसार सोमबार अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

LIVE TV