२८ भाद्र २०७७, आईतवार
  • मनिराज पाण्डे

कालिकोट, २८ भदाै । कालिकोटमा यस वर्ष बाढी-पहिरोबाट ४३ जनाको मृत्यु भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताउनुभयो । शनिबार कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्र महादुर शाहीलाइ जिल्लामा विपद्को अवस्थाबारे जानकारी गराउँदै गैरेले भन्नुभयाे, ‘यहाँका ७ जना बेपत्ता छन् । ६ सय ८५ घर पुर्णरुपमा क्षति भएका छन् ।’

कालिकोटमा बाढी-पहिरोले ५ वर्षयताकै ठूलो क्षति गरेको जिल्ला समन्वय समितिका सभापति अनिपाल शाहीले बताउनुभयो । बाढी-पहिरोले १ हजार ७ सय ७१ घर आंशिक क्षति गरेको छ ।

त्यस्तै २ सय ३८ खानेपानी आयोजना, १२ वटा स्वास्थ्य चौकी, ४५ वटा विद्यालय, २२ वटा सडक र २ सय २२ वटा सिचाँइ-कुलोमा क्षति भएको तथ्यांक स्थानीय निकायहरूबाट प्राप्त भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी युवराज गुरागाइँले बताउनुभयो ।

मुख्यमन्त्री गृहजिल्लामा

कर्णाली प्रदेशका  मुख्यमन्त्री महेन्द्रबहादुर शाही गृहजिल्ला कालिकोट आउनुभएकाे छ । उहाँले स्थानीय विकास निर्माण आयोजनाको अनुगमन, जिल्लामा बिपद्को अवस्थाबारे जानकारी लिनुका साथै जिल्ला कोभिड- १९ विशेष अस्पतालको उद्घाटन  पनि गर्नुभएको छ ।

कर्णाली राजमार्ग हुँदै कालिकोट पुग्नुभएका मुख्यमन्त्री शाहीले बहुप्रतिक्षित कर्णाली करिडोरअन्तरगत लालु खुलालु पुलको निर्माण कार्य एक वर्षमा पुरा हुने बताउनुभयो । पुनर्निर्माणका लागि ५ वर्षअघि सिलान्यास गरिएको थियो ।

LIVE TV