२७ भाद्र २०७७, शनिबार
  • गोविन्द कुँवर

काठमाडौं, २७ भदौ । नेपालमा लोपोन्मुख बन्दै गएको अर्नाको संख्यामा बृद्धि भएको छ । सन् १९७६ देखि २ हजारसम्म घट्दोक्रममा रहेका अर्ना अहिले बढेका छन् ।

विभिन्न समय हुने प्राकृतिक घटनाले नासिदै गएका उनीहरुको लागि सुरक्षित वासस्थानको व्यवस्थापन भएसँगै बढ्न थालेका हुन् ।तर केही मात्रामा सुधारोन्मुख देखिएपनि अर्ना संकटमै रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निष्कर्ष छ ।

विश्वभरमा अर्नाको संख्या घट्दो क्रममा रहेपनि नेपालमा भने सुधारन्मुख देखिएको छ । १९७६ देखि २ हजारसम्म ओरालो लागेको अर्नाको संख्या २०२० आइपुग्दा बढेर ४ सय ४१ पुगेका छन् । तर केही देशमा भने अर्ना लोप भइसकेको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले जनाएको छ । पाकिस्तान, बङ्गलादेश, लाओस र भियतनाम लगायतका देशमा अर्ना लोप भइसकेका छन्,नेपाल, भारत, भूटान, म्यानमार र थाइल्याण्डमा मात्र अर्ना बचेका छन ।

वन्यजन्तुका प्रजाति एक स्थानमा मात्र रहँदा प्राकृतिक प्रकोप, रोग आदिका कारण वंश नै नाशिदै गएका छन् । त्यसैले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुसंरक्षण विभागले कोशीटप्पु वन्यजन्तु आरक्षमा मात्र सीमित अर्नालाई अन्य स्थानमा विस्तार गर्ने काम भइरहेको जनाएको छ ।

नेपालमा अर्नाको संख्या :  कुन सालको सर्वेक्षणमा कति थिए र  कति बढे ?

  • सन्  : १९७६ मा ६३ वटा
  • सन् : १९८७ मा ५१ वटा
  • सन् : १९८८ मा ५२ वटा
  • सन् : २००० मा १४५ वटा
  • सुन् : २००४ मा १५९ वटा
  • सन् : २००९ मा २१९ वटा
  • सन् : २०१० मा २१५ वटा
  • सन् : २०११ मा २३७ वटा
  • सन् : २०१५ मा ३५० वटा
  • सन् : २०१६ मा ४३३ वटा
  • सन् : २०१८ मा ४४१ वटा

यता २०७३ सालमा कोशीटप्पुबाट चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्नाको संख्या वृद्धि भएको छ । जसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अर्ना संरक्षणको पाँचवर्षे कार्ययोजना बनाएर काम शुरु गरेको छ ।
२०७३ सालमा चितवनमा कोशीटप्पुबाट १२ वटा र सदर चिडियाखाना जावलाखेलबाट तीन वटा अर्ना लगिएको थियो ।

त्यसमध्ये चिडियाखानाबाट लगिएका सबै अर्ना प्राकृतिक वातावरणमा अनुकूल हुन नसकेर मरेका थिए । संरक्षण विभागले अर्ना संरक्षणको पाँचवर्षे कार्ययोजनाका लागि १ अर्ब ६८ करोड ३ लाख ५९ हजार लाग्ने अनुमान गरेको छ । त्यसमध्ये जम्मा बजेटको ५१।५३ प्रतिशत अर्नाको वासस्थान व्यवस्थापनमा छुट्याइएको जनाएको छ ।

नेपालमा अर्ना संरक्षणका लागि बाढी सबैभन्दा ठूलो चुनौती देखिएको छ । यस्तै, आनुवांशिक गुणमा आउने ह्रास, सरुवा रोगको जोखिम पनि अर्ना संरक्षणका चुनौती हुन् । त्यसैले अर्नालाई सुरक्षति क्षेत्र चितवन,बर्दिया,शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अर्ना स्थानान्तरण गरी वासस्थान वृद्धि गर्ने लक्ष्य राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको छ ।

LIVE TV