२७ भाद्र २०७७, शनिबार
  • तारा आचार्य,

विराटनगर, २७ भदौ । विराटनगर महानगरपालिकाले १ सय बेडको तीनवटा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि महानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइन स्थललाई नै आइसोलेसन सेन्टर बनाएको हो ।

महानगरमा संक्रमितको संख्या धेरै भएको र धेरै जसो संक्रमितहरुले बेड नपाएका कारण घरमै बस्नु पर्ने बाध्यता भएको कारण महानगरले आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीले जानकारी दिइन् ।

उनले भर्खरै सञ्चालनमा आएका आइसोलेसन सेन्टरमा प्रर्याप्त मात्रामा स्वास्थ्य सामग्रीहरु नभएको र त्यसको महानगरले चाडै व्यवस्थापन गर्ने बताइन् । उनले महानगरपालिकाले अझै आइसोलेसन सेन्टरहरुको स्थापना गर्ने जानकारी दिइन् ।

महानगरपालिकाले स्थानपना गरेको आइसोलेसन सेन्टरमा सधैं अनुगमन गरिने र सो सेन्टरमा रहेका संक्रमितको स्वास्थ्यमा समस्या आएमा आधा घण्टामै कोभिड उपचार केन्द्र लैजाने व्यवस्था गरिएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका संयोजक डा.दीपक सिग्देलले जानकारी दिए ।

महानगरपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसनमा उपचार गराएर संक्रमणमुक्त भएका विराटनगरका किशोर धमलाले आइसोलेसन सेन्टरमा सबै सुविधा भएको र पल्स अक्सिमिर मात्र नभएको बताए । उनले भने, ‘खाना, स्वास्थ्य उपचारलगायत सबै कुराको व्यवस्था राम्रो छ ।’

LIVE TV