२७ भाद्र २०७७, शनिबार
  • अभिमन्यू लामिछाने,

उदयपुर, २७ भदौ । उदयपुरको कटारी नगरपालिकामा–११ लखनथुम्कामा खुकुरी प्रहार गरी एक महिलाको हत्या गरिएको छ ।

इलाका प्रहरी कार्यालय कटारीका डीएसपी हेमन्त भण्डारी क्षेत्रीका अनुसार शनिबार बिहान स्थानीय २५ वर्षीय रोशन राना मगरले छिमेकी ४२ वर्षीया डोरकुमारी राउतको हत्या गरेका हुन् ।

‘मगरले राउतको घरमै पुगेर टाउको, ढाड र हातमा खुकुरी प्रहार गरेको देखिन्छ’, डीएसपी भण्डारी क्षेत्रीले भने । हत्या गरेको आरोपमा मगरलाई कटारी ११ हात्तीसुडेको हुपटार जंगलबाट नियन्त्रणमा लिइएको पनि उनले जानकारी दिए ।

अहिले घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । मृतक महिलाको शव पोष्टमार्टमका लागि कटारी अस्पताल ल्याउँदै गरेको पनि डीएसपी भण्डारीले जानकारी दिए । कटारी नगरपालिका ११ का वडा अध्यक्ष सरोज बुढाथोकीले लागूऔषधमा लठ्ठिएर हत्या गरेको हुन सक्ने बताए ।

‘बिहान कटारी बजार गएर लागूऔषध सेवन गरेर फर्केको देखिन्छ’, अध्यक्ष बुढाथोकीले भने, ‘लागूऔषध सेवन गरी बेहोस मै हत्या गरेको हुनुपर्छ । बिहान करीब ९ बजे तीर घरमै आएर घरबाट निकालेर टाउको, ढाड र हातमा खुकुरी प्रहार गर्दै सय मीटर तलसम्म लगेका छन् ।’

LIVE TV