
- घनश्याम मिश्र
जनकपुरधाम, २७ भदौ । एक हिन्दू युवाले मुस्लिम समुदायकाे पर्व मोहर्रमका लागि बनाइएको ‘दाहा’ (एक प्रकारकाे झण्डाजस्तै वस्तु) को फोटो सामाजिक सञ्जालमा पोष्ट गरेपछि जनकपुरधामको रुपैठामा हिन्दू-मुस्लिम समुदायबीच विवाद उत्पन्न भएको छ ।
केही दिनअगाडि एक हिन्दू युवाले दाहाको फोटो सामाजिक सञ्जालमा शेयर गरेलगत्तै मुस्लिम समुदाय सोही विषयलाई लिएर आक्रोशित भएको बताइएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा भएको सो विवादमा शनिबार दुवै पक्षबीच केहीबेर ढुंगा-मूढा समेत भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शनिबार बिहान शुरु भएको सो झ’डप नियन्त्रणमा आइसकेको र विवाद समाधानका लागि दुबै पक्षबीच वार्ता चलिरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए । वार्ताबाट विवाद समाधान हुने अपेक्षा गरिएकाे छ ।
प्रहरीले सो झ’डपलाई नियन्त्रणमा लिनका लागि एक दर्जन राउण्ड अश्रुग्याँस प्र’हार गरे पनि प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले ३/४ राउण्ड अश्रुग्याँस प्रहार गरिएको बताए । अवस्था सामान्य रहेको जानकारी गराउँदै प्रहरी नायब उपरीक्षक मिश्रले भने ‘विस्तृत विवरण अहिले आउन बाँकी रहेको छ ।’
यता मोहर्रमका लागि बनाइएको दाहामा आगो लगाइएपछि आक्रोशित समुहले त्यहीँ रहेको एक पसलमा तोडफोड गर्नुका साथै पसलनै भत्काएका छन् । यद्यपि दाहामा आगो लगाइए नलगाइएको विषयमा प्रहरीले पुष्टि गरेको छैन ।
झ’डपलाई नियन्त्रणमा लिनका लागि इन्सपेक्टरको कमाण्डमा ६० जनाको टोलीका साथै सशस्त्र प्रहरीको टोली समेत खटाइएको थियो ।