शिक्षा क्षेत्रमा कोरोनाले पारेकाे प्रभाव र अभिभावकको दायित्व



प्रकाशित मिति : Sep 12, 2020
  • खगेन्द्रसिंह धामी

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) बाट विश्व समुदाय नै प्रभावित भएको छ । यसले मानव जातिको जीवनमा प्रतिकुल अवस्था सिर्जना गरेको छ । विश्वका कुनै पनि मुलुक यसबाट अछुतो रहन सकेका छैनन् । विश्वमा नै आज कोरोना भाइरस निदानको कुनै पनि प्रक्रिया सफल हुन सकिरहेको छैन । कोरोना भाइरस विश्वभर संक्रिमित हुँदै नेपालमा पनि यसको संक्रमणदर दिनप्रतिदिन अनपेक्षित रुपमा बढ्दै गएको छ । विश्वमा शक्तिशाली राष्ट्र पनि आज कोरोना भाइरसको कारण लथालिङ्ग अवस्थामा पुगेका छन् । यसले विकासका पूर्वाधारहरुको विकासमा बाधा सिर्जना गरेको छ । वर्तमान समयमा कोरोना भाइरसको प्रभावबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सिङ्गो विश्व नै प्रभावित भएको छ ।

कोरोना भाइरस कोभिड–१९ ले स्वास्थ्य, शिक्षा, यतायात, उद्योग, कलकारखाना आदि जस्ता विविध क्षेत्रमा प्रतिकुलता सिर्जना गरेको छ । वर्तमान समयमा यसबाट शिक्षा क्षेत्र नराम्ररी प्रभावित भएको छ । विद्यालयको पठनपाठन विगत ५ महिना देखि अवरुद्ध भएको छ । नेपाल जस्तो गरिब तथा विकासोन्मुख मुलुकमा कोरोना भाइरसले असहज अवस्था सिर्जना गरेको छ । अन्तर्राष्ट्रिय संघ-संस्थासँग नेपालले गरेका शान्ति समझौता अधुरा रहने देखिन्छन् ।

शिक्षासँग सम्बन्धित योजना पूर्ण रुपमा कार्यान्वयन हुन नपाइ विचैमा टुङ्गिएका छन् । यसले गर्दा शिक्षा क्षेत्रमा लगाएको राज्यको लगानी खेर जानुका साथै तय गरेका लक्ष्य तथा उद्देश्यहरु पूरा हुने देखिँदैनन् । लामो समय सम्म विद्यालय सञ्चालनमा नआउदा विद्यालयको पठनपाठन नराम्ररी प्रभावित भएको छ । शैक्षिक सत्र सुरुवात हुन सकिराखेको छैन । यसले गर्दा विद्यार्थीको सिकाइमा प्रभाव परेको छ । शैक्षिक क्यालेण्डर, वार्षिक कार्यतालिका,कार्ययोजना र सिकाइ योजनाको निर्माण र कार्यान्वयन पक्षमा अन्योलता सिर्जना भएको छ । नेपालका कतिपय दुर्गम जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक उपलब्ध भएका छैनन् । विद्यार्थीको शिक्षा लिन पाउने नैसर्गिक तथा मौलिक हक अधिकार माथि नै प्रश्न उठ्न थालेका छन् । विद्यालय जाने उमेर समूहका लाखौं विद्यार्थीहरु घरमै बस्न बाध्य भएका छन् । यसबाट विद्यार्थीमा मनोवैज्ञानिक समस्या उत्पन्न हुनुका साथै पढेका कुराहरु विस्मरण हुने सम्भावना उच्च रहेको छ । कतिपय विद्यार्थीहरुमा बरबराउने, टोलाउने, रिसाउने, एकान्तमा बस्ने जस्ता विविध समस्या देखा परेका छन् ।

विद्यालयका भौतिक संरचनालाई क्वारेन्टाइन बनाएर बिरामी राख्ने गरिएको छ । यसबाट विद्यालयका भैतिक संरचनामा क्षति हुने सम्भावना बढेको देखिन्छ । झ्यालढोकाका सिसा तोड्ने, सौचालय फोहोर बानाउने पर्खालमा जथाभावी लेख्ने, डेस्क बेन्च लगायतका समानहरु हराउने जस्ता समस्या देखा पर्नुका साथै विद्यालयको विद्यार्थीमैत्री वातावरणमा असर परेको छ । क्वारेन्टाइन बनाएका विद्यालयहरु खाली भइसकेपश्चात पनि पूर्ण रुपमा सरसफाइ नगरिएकाले विद्यार्थीको मनोविज्ञनमा नराम्रो प्रभाव परेको छ । अझै पनि विद्यार्थीहरु आफ्नो विद्यालय जान डराइरहेका छन् । यिनै विविध पक्षका आधारमा कोरोना भाइरस कोभिड–१९ को शिक्षामा परेको प्रभावलाई सकारात्मक र नकारात्मक पक्षका आधारमा निम्नअनुसार विश्लेषण गरिएकोछ :

(क) सकारात्मक प्रभाव

  •  नेपाल जस्तो विकासोन्मुख मुलुकमा प्रविधिमैत्री शिक्षाको चुनौतीका साथै अवसर प्राप्त हुनु,
  •  विद्यार्थी तथा शिक्षकहरुमा नयाँ प्रविधिको प्रयोग गर्ने बानीको विकास हुनु,
  •  विद्यार्थी र शिक्षकहरुमा विभिन्न विषयवस्तुको खोज अनुसन्धान गरी अध्ययन गर्ने बानीको विकास हुनु,
  • विद्यार्थीलाई लामो समयसम्म घर परिवारमा बस्दा संस्कारजन्य र व्यवहार कुशल सिप सिक्ने अवसर प्राप्त हुनु,
  • मानव जीवनमा आइपर्ने विविध संकटको व्यवस्थापन गर्न पूर्व तयारी/योजना बनाउने बानीको विकास हुनु,
  • घरपरिवारमा बस्दा आफ्नो संस्कार र संस्कृती सिक्ने अवसर प्राप्त हुनु,
  • परम्परागत सिप सिक्नुका साथै कृर्षीजन्य कामहरुको बारेमा सिक्ने अवसर प्राप्त हुनु,
  • विद्यार्थीहरुमा गरेर सिक्ने भन्ने मान्यताकासाथै स्व–अध्ययन गर्ने बानीको विकास हुनु,
  •  विभिन्न समस्या वा चुनौती संग लड्ने ज्ञान सिपको विकास हुनु,
  • बालबालिकाको पहिलो पाठशाला घर हो भन्ने मान्यता अनुसार घरमै बसेर आआफ्ना अभिभावकबाट शिक्षा प्राप्त गर्ने अवसर प्राप्त हुनु,
  • विद्यार्थीले कसैको दबाब र प्रभावमा नभइ आफ्नो रुचि क्षमता र आवश्यकता अनुसारका विषयवस्तु सिक्ने अवसर प्राप्त गर्नु,
  • सिकाइ विद्यालयको चौघेराबाट मात्र हुन्छ भन्ने मान्यताको सट्टा सिकाइ जीवन पर्यन्त चलिरहने प्रक्रिया हो, यो जहाँ जहिले र जसरी पनि हुन्छ भन्ने मान्यताको विकास हुनु,
  • अनौपचारिक र अनियमित तथा आकस्मिक शिक्षाबाट सिक्ने अवसर प्राप्त हुनु आदि ।

(ख) नकारात्मक प्रभाव

  •  विद्यालय तहको पठनपाठन विगत ५ महिनादेखि अबरुद्ध हुनु,
  • नयाँ शैक्षिक सत्र सरु हुन नसकी झन् अन्यौलता बढ्दै जानु,
  • लाखैं विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालय भन्दा बाहिर रहनु,
  • शैक्षिक योजनाहरु पूर्ण रुपमा कार्यान्वयन नभइ शिक्षा क्षेत्रमा लगाएको लगानी खेर जानु,
  • विद्यार्थीहरुमा नैराश्यता उत्पन्न हुनुका साथै पठनपाठनप्रतिको रुचि घट्दै जानु,
  • विद्यालयका भौतिक संरचनाहरु अस्तव्यस्त हुनुका साथै क्षति हुने सम्भावना बढ्दै जानु,
  • शिक्षाका नीति, कार्यक्रम, मूल्य मान्यता, लक्ष्य, उद्देश्य र शैक्षिक योजनाहरुको उपलब्धि मापन गर्न बाधा भइ तथ्याङ्क अभिलेखीकरण गर्न समस्या हुनु,
  • विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थासंग गरिएका सम्झौताहरुले मूर्त रुप लिन नसक्नु,
  • विद्यालय तहको शिक्षामा निजी क्षेत्रसंग सहकार्य गरी अगाडि बढ्न नसक्नु,
  • विद्यालय तहका शिक्षक तथा कर्मचारीहरुलाई पेशागत क्षमता विकासका लागि प्रदान गरिने सेवकालीन तालिम प्रभावित हुनु,
  • सामुदायिक तथा संस्थागत विद्यालयको अनुगमन, नियमन र मूल्याङ्कन गरी पृष्ठपोषण प्रदान गर्न नसकिनु,
  • वैकल्पिक माध्यमबाट सञ्चालन गरिएका शैक्षिक कार्यक्रमले समाजमा वर्गीय विभेद सिर्जना गर्नु,
  • गरिब निमुखा, सीमान्तकृत समुदाय, समाजमा पछाडि पारिएका, विस्थापित भएका, राज्यको मूलधारमा नआएका र शरणार्थी समुदायका बालबालिकाहरुमा वैकल्पिक शिक्षाको पहुँच पुग्न नसग्दा मुलुक प्रतिको नकरात्मक भाव पैद हुनु,
  •  नेपालको संविधानले परिकल्पना गरेको मौलिक हक कार्यान्वयन गर्न बाधा सिर्जना हुनु,
  • विभिन्न किसिमका अपाङ्गता भएका बालबालिकाका लागि वैकल्पिक शिक्षा कुहिरोको काग सरह हुुनु,
  • आम नागरिक तथा जनसमूदायको सहभागिता न्यून हुँदै जानु र
  • विद्यार्थी र शिक्षकहरुमा अध्ययन अनुसन्धान गर्ने बानी हराउदै जानु आदि ।

अभिभावकको दायित्व

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारणले गर्दा विद्यालयमा नियमित रुपमा पठनपाठन हुन सकिरहेको छैन । यस अवस्थामा आफ्नो परिवेश अनुकुल सिक्ने सिकाउने अभ्यासहरु भइरहेका छन् । कोभिड १९ कै कारण विद्यार्थी र शिक्षक बिच प्रत्यक्ष अन्तर्वार्ता हुन नसकिरहेको अवस्थामा वैकल्पिक माध्यम बाट सञ्चालन गरिएका कार्यक्रमहरुका विषयमा विद्यार्थीहरुमा सूचना प्रवाह गर्ने, पाठ्यपुस्तक तथा स्वाध्ययन सामग्री विद्यार्थीको हातमा पुगेको सुनिश्चित गर्ने र पाठ्यक्रमले निर्धारण गरेका सिकाइ उपलब्धि हासिल गर्ने गरी विभिन्न माध्यमबाट गरिएका विषय अझै समस्या मूक्त हुन सकेका छैनन् ।

यस अवस्थामा विद्यार्थीको सिकाइका लागि अभिभावकको विशेष भूमिका रहने गर्दछ । शिक्षा ऐन २०२८ अनुसार अभिभावक भन्नाले विद्यालयमा अध्ययनरत विद्यार्थीको अभिभावक भनी विद्यालयको अभिलेखमा जनिएको व्यक्ति सम्झनु पर्छ र सो शब्दले दफा १२ को प्रयोजनका लागि विद्यार्थीको आमाबुबा, बाजे, बज्यै र त्यस्ता अभिभावक नभएका विद्यार्थीको हकमा त्यस्तो विद्यार्थीलाई संरक्षकत्व प्रदान गर्ने व्यक्तिलाई समेत जनाउछ । यस विषम परिस्थितिमा सिकाइलाई निरन्तरता दिन अभिभावकको दायित्व निम्नअनुसार रहेको हुन्छ-

(१) सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थीहरुका लागि

  •  बालबालिकालाई पाठ्यपुस्तक, स्वध्ययन सामग्री र उनीहरुकै रुचिअनुसारका अन्य सन्दर्भ सामग्री पढ्न उत्साहित गर्ने,
  • पाठ्यपुस्तक वा स्वाध्ययन सामग्रीमा भएका विषयवस्तु आफूले जानेको भएमा विद्यार्थीलाई सिकाउने,
  • बालबालिकासंग साथीको जस्तो व्यवहार गरी पढ्न उत्प्रेरित गर्ने,
  • आफू भन्दा ठूला माथिल्ला कक्षाका दाजु वा दिदीहरुबाट सिक्न र सिकाउन लगाउने,
  • बालबालिकालाई सिक्नकालागि समय तालिका वा आचारसंहिता बनाएर लागु गर्ने र गर्न लगाउने,
  • बालाबालिकामा नैराश्यताको भाव उत्पन्न हुन नदिन मनोरञ्जनका क्रियकलाप गर्ने र गराउने,
  • बालबालिकामा व्यवहार कुशल सिपको विकास गर्न संस्कारजन्य कुराहरु सिकाउने,
  • बालबालिकालाई आवश्यक पर्ने सामग्रीको व्यवस्थापन गर्ने ,
  • घरपरिवारको वातावरण बालमैत्री बनाउने र
  • बालबालिकालाई विभिन्न चित्र कोर्न लगाइ थरीथरीको रङ भर्न लगाउने आदि ।

(२) रेडियो एफएममा पहुँच भएका बालबालिकाका लागि

  • रेडियोमा पाठ प्रसारण हुने समय तालिकाको बारेमा जानकारी गराउने,
  •  रेडियोको व्यवस्था गरी समय तालिका अनुसार रेडियो सुन्न प्रोत्साहित गर्ने,
  • रेडियोबाट प्रसारित पाठका मुख्य मुख्य विषयवस्तु टिप्न निर्देशन दिने,
  • रेडियोबाट प्रसारित विषयवस्तुमा पाठ्पुस्तकबाट थप अभ्यास गर्न लगाउने,
  • रेडियोबाट प्रसारित विषयवस्तु नबुझेको भएमा टिप्न लगाइ बालबालिकाका बिच छलफल गर्न लगाउने र
  • बालबालिकालाई कठिन लागेका विषयबस्तुमा सम्बन्धित विषयको विषय शिक्षक संग सम्पर्क गराइदिने आदि ।

(३) टेलिभिजनमा पहुँच भएका बालबालिकाका लागि

  • टेलिभिजनबाट पाठ प्रसारण हुने समयतालिकाको जानकारी गराइ टेलिभिजन सुन्न र हेर्न लगाउने,
  • प्रसारण भएका पाठका मुख्य मुख्य कुराहरु टिप्न लगाइ दिएको गृहकार्य गर्र्न लगाउने,
  • प्रसारित पाठलाई पाठ्यपुस्तकमा हेर्न लगाइ थप अभ्यास गराउने,
  • टेलिभिजनबाट प्रसारित पाठमा नबुझेका कुरा टिप्न लगाइ विषयगत शिक्षकलाई सम्पर्क गराइ सहजीकरण गरिदिने,
  • टेलिभिजनबाट भोलिपल्ट प्रसारण हुने पाठको हघिल्लो दिनमै तयारी गर्न लगाउने र
  • विगतमा सिकेका विषयवस्तुहरुको बारेमा पुनरावलोकन गर्न लगाउने आदि

(४) कम्प्युटर भएका तर अनलाइन कनेक्टिभिटी नभएका बालबालिकाका लागि

  •  शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट तयार पारिएका स्वाअध्ययन सामग्री पेन्ड्राभ÷हार्ड डिस्कमा सङ्कलन गरी कम्प्युटरमा राख्न लगाइ अध्ययन गर्न लगाउने,
  • स्वाअध्ययन सामग्रीमा भएका अभ्यासहरु गर्न लगाइ बालबालिका बिच छलफल गर्न लगाउने,
  • स्वाअध्ययन सामग्रीमा नबुझेका कुराहरु टिपोट गर्न लगाइ सम्बन्धित विषयका विषय शिक्षकसंग सम्पर्क गराइदिने,
  • स्वाअध्ययन सामग्रीका साथसाथै पाठ्यपुस्तकमा भएका विषयवस्तु सिक्न सहजीकरण गर्ने र
  • निश्चित समय तालिका निर्माण गरी त्यसै अनुसार बालबालिकालाई पढ्न प्रोत्साहित गर्ने आदि ।

(५) इन्टरनेट तथा सूचना सञ्चार प्रविधिमा पहुँच भएका बालबालिकाका लागि

  •  शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत तयार पारिएका स्वाअध्ययन सामग्री इन्टरनेटबाट डाउनलोड गरी नियमित अध्ययन गर्न लगाउने,
  • विद्यार्थीले पढ्ने विषयका सम्बन्धित विषयवस्तु इन्टरनेटमा खोज्न लगाउने र अध्ययन गर्न निर्देशन दिने,
  • घरमा इन्टरनेट तथा बिजुलीको पर्याप्त व्यवस्था गरी दिने,
  • शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेभसाइटमा भएका पाठहरु सुन्न, हेर्न र एकाआपसमा छलफल गर्न लगाउने र
  • इन्टरनेटबाट पढेका विषयवस्तु नबुझेको खण्डमा विषय शिक्षकसंग सम्पर्क गरी बालबालिका लाई सम्बन्धित विषयमा स्पष्ट बनाइदिने आदि ।

निष्कर्ष

विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ को प्रभाव शिक्षा क्षेत्रमा प्रत्यक्ष रुपमा परेको छ । यस अवस्थामा अभिभावकहरुको भूमिकालाई थप सशक्त बनाउन सकेको खण्डमा बालबालिकाको सिकाइ कार्यमा सहजीकरण गर्न सकिन्छ ।

अभिभावकले बालबालिकाका लागि आवश्यक पर्ने स्टेशनरी सामग्रीको व्यवस्था गरीदिने, बालबालिकामा सरसफाइ र असल बानीको विकास गराउने, कथा कविता रचना गर्न र भन्न प्रोत्साहित गराउने, बालबालिकाको दैनिक कार्य विवरण तयार पारी कार्यान्वयन गर्न लगाउने, घरमा आफूसंगै विभिन्न घरयासी काम गर्न र संस्कारजन्य कुरा सिक्न प्राेत्साहित गर्ने, जीवनउपयोगी र व्यवहार कुशल सिप सिक्ने वातावरण तयार पार्ने, बालबालिकाको रुचि अनुसार काम गर्न लगाउने, बालबालिकामा रहेको चिन्ता र द्धिविधा हटाउने र परामर्शदाताको आवश्यकता परे परामर्शदातासंग सम्पर्क गराइदिने र अपाङ्गता भएका बालबालिकाका लागि अपाङ्गताको प्रकृतिअनुसारका सामग्रीको व्यवस्था गर्ने जस्ता दायित्व अभिभावकले निर्वाह गर्न सके बालबालिकाको सिकाइमा सहजीकरण हुने देखिन्छ ।

(धामी शिक्षा युवा तथा खेलकुद शाखा प्रमुखका रूपमा तादी गाउँपालिका, नुवाकोटमा कार्यरत हुनुहुन्छ)

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com