२६ भाद्र २०७७, शुक्रबार
  • रामगाेपाल तमखु

भक्तपुर, २६ भदाै ।  भक्तपुरमा २०७७ भाद्र २५ गतेदेखि भाद्र ३१ गतेसम्मका लागि सार्वजनिक सवारी साधन बन्द गर्ने निर्णय गरे तापनि सार्वजनिक सवारी साधन चल्न थालेका छन् । सरकारले भाद्र २५ गते बिहिवारबाट निषेधाज्ञा खुकुलो बनाएसँगै भक्तपुरबाट चल्ने सार्वजनिक यातायातका साधनहरु पनि चल्न थालेका हुन् ।

मंगलबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिहरूसँग भक्तपुर नगरभित्रबाट काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका छोटो दुरीका यातायातहरू भदाै २५ गतेदेखि ३१ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको थियो ।

तर उक्त निर्णयविपरी गाडीहरू चलेका छन् । व्यवसायीहरुले सबै गाडीहरु नचलाए तापनि भक्तपुरबाट उपत्यकाका रुटमा चल्ने छोटो दुरीका केही गाडीहरु चलेको देखिन्छ । जस्तैः भक्तुपुर, काेटेश्वर, ग्वार्काे हुँदै कंलकीसम्म र भक्तपुर, कोटेश्वर, चावहिल हुदै नयाँ बसपार्कसम्म तथा भक्तपुर, कोटेश्वर, बानेश्वर हुँदै  रत्नपार्कसम्म चल्ने गाडीहरु आज अलि धेरै नै चलेको देखिन्छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)का कारण सरकारले लागू गरेको स्वास्थ्य सुरक्षा नीति अपनाएर गाडी चलाएको चालकहरुले बताएका छन् ।

ट्राफिक प्रहरी कार्यालय भक्तपुरले सार्वजनिक सवारी साधन चल्न थालेपछि विभिन्न ठाउँमा बसेर सरकारले स्वास्थ्य सुरक्षा अपनाएको छ कि छैन र भाडाको विषयमा पनि निगरानी गर्ने गरेको ट्राफिक प्रहरी कार्यालय भक्तपुरका प्रमुख इनिस्पेक्टर सुमन नेउपानेले बताउनुभयो ।

यसअघि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू बसेको बैठकले मिति २०७७ भदौ २४ गते उपत्यकामा चल्ने १६ जना भन्दा बढी सिटका गाडीलाई जोर-बिजोर प्रणाली लागू गरी सञ्चालन गर्ने निर्णय  गरेकाे थियाे ।

 

LIVE TV