२६ भाद्र २०७७, शुक्रबार

काठमाडौँ, २६ भदौ । सत्तारूढ  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे अवरूद्ध स्थायी कमिटी बैठक अाज (शुक्रबार) बस्दै छ । उक्त बैठकको सबै तयारी पूरा भएको जनाइएकाे छ ।

नेकपा महासचिव विष्णुप्रसाद पौडेलले बैठकका लागि आवश्यक गृहकार्य सकिएको जानकारी दिनुभयो  । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  तयार पारेको प्रस्ताव स्थायी कमिटीका सदस्यहरूलाई समेत पठाइसकिएको उहाँकाे भनाइ छ ।

अध्यक्षद्वय बीच भएको १५ बुँदे सहमति स्थायी कमिटी बैठकमा पेश हुनेछ । दुई अध्यक्षले सहमति जनाए पनि अर्का वरिष्ठ नेता माधवकुमार नेपाल भने असन्तुष्ट रहेका छन् । उहाँहरूबीच एकताको महत्वलाई आत्मसात् गर्ने, पार्टीमा पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्नुपर्ने उल्लेख छन् । त्यस्तै एकताको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने, सरकारको काम, संसदीय दलको भूमिका, प्रदेश सरकार र स्थानीय तहको भूमिका प्रभावकारी बनाउने प्रस्ताव गरिएको छ ।

तर, उक्त सहमति प्रतिवेदनमा आफ्नो अडान प्रवेश नपाएको भन्दै वरिष्ठ नेता माधव नेपाल भने असन्तुष्ट नै रहेका छन् । पार्टी एकतादेखि नै नेता नेपालले पार्टीमा एक व्यक्ति एक मुख्य जिम्मेवारी लागु हुनुपर्ने कुरा उठाउँदै आएका थिए ।

LIVE TV