२५ भाद्र २०७७, बिहीबार
  • घनश्याम मिश्र,

जनकपुरधाम, २५ भदौ । पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ११ हजार ६ सय ६५ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय असपताल वीरगञ्ज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा सबैको रिपोर्ट पोजेटिभ आएको छ ।

आज सबैभन्दा बढी सर्लाहीमा ४२ जना, धनुषामा २२ जना, सिरहामा २१ जना, बारामा १५ जना, सप्तरीमा १५ जना, पर्सामा ९ जना र रौतहटमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज पुष्टि भएका संक्रमितहरुमध्ये २४ जना महिला र १ सय २ जना पुरुष रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८९ जना महिलासहित ३ सय ६ जना संक्रमित निको भएर आफ्नो घर फर्किएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या ६ हजार २ सय ४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी बारामा २ सय ८ जना डिस्चार्ज भएका छन् । त्यस्तै पर्सामा ८६ जना, धनुषामा ८ जना, सप्तरीमा ३ जना र सिरहामा १ जना संक्रमित निको भएर घर फर्किएका हुन् ।

कोरोना संक्रमणबाट आज धनुषामा एकको मृत्यु भएको छ । योसँगै यस प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ३९ जना, बारामा १६ जना, धनुषामा १३ जना, महोत्तरीमा ११ जना, सिरहामा १० जना, सप्तरीमा ८ जना, रौतहटमा ५ जना, सर्लाहीमा ४ जना र १ भारतीय नागरिकको मृत्यु भएको छ ।

LIVE TV