२४ भाद्र २०७७, बुधबार
  • घनश्याम मिश्र,

जनकपुरधाम, २४ भदौ । पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप १ सय ६९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आज (बुधबार) ३१ जना महिला र १ सय ३८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिएका हुन् ।

योसँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ५ सय ३९ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

सिरहाका ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै रौतहटका ३८ जना, सप्तरीका ३४ जना, बाराका १४ जना, पर्साका ६ जना, सर्लाहीका ५ जना, धनुषाका ३ जना र महोत्तरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै आज यस प्रदेशमा ५ महिलासहित ५८ जना कोरोना संक्रमित निको भएर आफ्नो घर फर्किएका छन् । योसँगै प्रदेश २ मा निको हुनेको संख्या ५ हजार ९ सय ४१ पुगेको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ ।

LIVE TV