२३ भाद्र २०७७, मंगलवार
  • घनश्याम मिश्र,

जनकपुरधाम, २३ भदौ । प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा १ सय १० जना नयाँ संक्रमित थपिएका छन् । यस प्रदेशमा पछिल्लो २४ घण्टामा २३ महिला र ८७ पुरुषसहित १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार धनुषाका २७ जना, सप्तरीका २४ जना, सिरहाका १९ जना, पर्साका १४ जना, बाराका ११ जना, रौतहटका ८ जना, महोत्तरीका ४ जना र सर्लाहीका ३ जना संक्रमित भएका हुन् ।

योसँगै प्रदेश २ मा संक्रमितको संख्या ११ हजार ३ सय ७० पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डाक्टर कमलेश प्रसाद यादवले जानकारी दिएका छन् ।

संक्रमितमध्ये ९ हजार ५ सय ६६ जना पुरुष र १ हजार ८ सय ४जना महिला रहेका प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डाक्टर यादवले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा २ सय ५० जनाको रिपोर्ट पोजेटिभ आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

थप एकको मृत्यु

पछिल्लो २४ घण्टामा यस प्रदेशमा कोरोना संक्रमणका कारण थप एकको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार बाराको महागढीमाई नगरपालिका वडा नम्बर–१० गंज भवानीपुरका ६० वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । योसँगै यस प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ ।

थप ४७ जना डिस्चार्ज भए

पछिल्लो २४ घण्टामा यस प्रदेशका ४७ जना अस्पतालबाट डिस्चार्ज भएका छज् । डिस्चार्ज हुनेहरुमा धनुषाका १, रौतहटका ३ र पर्साका ४३ जना हरेका छन् । योसँगै हालसम्म यस प्रदेशमा ५ हजार ८ सय ८३ जना संक्रमितहरु डिस्चार्ज भइसकेका छन् ।

LIVE TV