२३ भाद्र २०७७, मंगलवार
  • घनश्याम मिश्र,

जनकपुरधाम, २३ भदौ । धनुषाको विदेह नगरपालिकामा एक दलित परिवारमाथि निर्घात कुटपिट गरिएको छ ।
विदेह नगरपालिका वडा नम्बर-३ गोबराहीका स्थानीय सवाई दासका श्रीमती, बुहारीलगायत घरमा रहेका वृद्धबृद्धालाई समेत निर्घात कुटपिट गरिएको हो ।

पूर्व प्रधानपञ्च हरि कुसियैतका छोरा रोशन कुसियैत, बिटु कुसियैत र भतिजा दुर्गेश कुसियैतले निर्घात कुटपिट गरेका पीडित परिवारले आरोप लगाएका छन् ।

सोमबार साँझ सामान्य विवादपछि कुसियैत परिवारले घरमै प्रवेश गरी दास परिवारमाथि निर्घात कुटपिट गरेका पीडितको भनाइ छ । कुसियैत परिवारको कुटाईबाट ४५ वर्षीया निलमदेवी दास, २४ वर्षीय रामशरण दास र रामभगत दास घाइते भएका छन् ।

निलम देवीको अवस्था गम्भीर भएपछि उनको उपचारका लागि जनकपुरस्थित काव्य अस्पतालमा भर्ना गरिएको छ । कुसियैत परिवारले सामान्य विवाद भएपछि दास परिवारको घरमै प्रवेश गरेर परिवारका सबै सदस्यहरुमाथि हातपात गरेको पीडित रामशरणको आरोप छ ।

कुटपिट गर्ने कुसियैत परिवार पहिलादेखि नै जमिन्दारी शैली देखाउँदै आएको पीडितको भनाइ छ । कुटपिट गर्नेहरुमाथि कारबाहीका लागि दुहबी गोबराही प्रहरीचौकीमा पीडित परिवारले निवेदन दिएको बताएका छन् । तर, कुटपिट गर्नेहरुलाई पक्राउ गर्नका लागि प्रहरीले आनाकानी गरिरहेको पीडितको अरोप छ ।

यता दुहबी प्रहरीचौकीका सई हिलम सिंह दनुवारले दुवै पक्षबीच ज्यालाको लागि विवाद भएको र विवादमा कुटाकुट हुँदा दुबै पक्षका व्यक्तिहरु घाइते भएका बताए । कुसियैत परिवार पक्षका पनि तीनजना घाइते भएर अस्पताल भर्ना भएका उनले बताए ।

LIVE TV