२३ भाद्र २०७७, मंगलवार
  • राजन परियार,

सिन्धुली, २३ भदौ । सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित शिवनगरमा निर्माणाधीन आइसोलेशन अस्पतालका लागि हरिहरपुरगढी गाउँपालिकाले ५ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

कुल २ करोड ५४ लाख २४ हजार ४ सय ८७ रुपैयाँको लागतमा निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको भएता पनि बजेट अभावका कारण रोकिएको थियो । तर, पछिल्लो समय जिल्लाका स्थानीय तह, विभिन्न संघ संस्था, व्यवसायी र जनस्तरबाटै सहयोग जुटाएर आइसोलेशन अस्पताल निर्माण कार्य तीव्र रुपमा अगाडि बढाइएको छ ।

आइसोलेशन अस्पताल निर्माणका लागि सोमबारसम्म ५५ लाख ५ हजार ५ सय १५ रुपैयाँ सहयोग रकम जम्मा भइसकेको आइसोलेशन अस्पताल निर्माण उपभोक्ता समितिका अध्यक्ष अशोक श्रेष्ठले जानकारी दिए ।

मंगलबार (आज) जिल्लाको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कार्साङ लामाले अस्पताल निर्माण स्थलमै आएर ५ लाख ५० हजार र आफ्नी स्वर्गीय आमाको सम्झनामा ५० हजार गरी ६ लाख रुपैयाँ सहयोग गरेका छन् ।


त्यसैगरी जिल्लाका स्थानीय तह मरिण गाउँपालिकाले ५ लाख ५० हजार सूनकोसी, तीनपाटन, घ्याङलेख र गोलन्जोर गाउँपालिकाले ५/५ लाख र कमलामाई नगरपालिकाले ३ लाख रुपैयाँ नगद सहयोग गरेका छन् ।

मरिण गाउँपालिकामा कार्यरत कर्मचारीहरुबाट संकलन गरिएको १ लाख १३ हजार ७ सय १७ रुपैयाँ पनि भवन निर्माणका लागि सहयोग गरिएको छ । जिल्लाका विभिन्न संघसंस्था, व्यवसायी र नागरिकबाट २१ लाख रुपैयाँ नगद संकलन भएको छ ।

आइसोलेशन अस्पताल निर्माणमा जिन्सी सहयोग पनि प्राप्त भएको छ । जिन्सी सहयोगको एकीन मूल्याङ्कन भइनसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

डब्ल्यूएचओको मापदण्ड अनुसार आइसोलन अस्पतालमा भेन्टिलेर र आईसीयू समेत जडान गरिने छ । अस्पताल भवनको निर्माण कार्य ८० प्रतिसत सम्पन्न भइसकेको छ ।

LIVE TV