२३ भाद्र २०७७, मंगलवार
  • तारा आचार्य

विराटनगर, २२ भाद्र । सुनसरी-मोरङ औद्योगिक कोरिडोरका उद्योगहरु आंशिक रुपमा संचालन हुन थालेपछि लकडाउन र निषेधाज्ञाका बीच पनि विराटनगर भंसार कार्यालयको भंसार राजस्व संकलन बढेको छ ।

भाद्र महिनाको २२ गते सम्म विराटनगर भंसार कार्यालयले १ अरब ७० करोड १० लाख ६५ हजार रुपैया भंसार राजस्व संकलन गरेको छ । विराटनगर भंसार कार्यालयलाई भाद्र महिनाका लागि ३ अरब २३ करोड १३ लाख ४७ हजार रुपैया भंसार लक्ष्य तोकिएको छ ।

विराटनगर भंसार कार्यालयले साउन महिनामा तोकिएको भन्दा ३ प्रतिशत बढी भंसार राजस्व संकलन गरेको थियो । साउन महिनाका लागि २ अरब १८ करोड लक्ष्य तोकिएकोमा २ अरब २४ करोड रुपैया भंसार राजस्व संकलन गरेको विराटनगर भंसार कार्यालयले जनाएको छ ।

पेट्रोलियम पदार्थ, फलामजन्य औद्योगिक कच्चा पदार्थ बिलेट, एचआर सिट तथा क्रुड सोयाबिन र सनफ्लावर तेल लगायतको वस्तुको आयात बढेकाले भंसार राजस्व संकलन बढेको विराटनगर भंसार कार्यालयका प्रमुख भंसार अधिकृत शिव भण्डारीले जानकारी दिनुभयो ।

विराटनगर भंसार कार्यालयलाई आर्थिक वर्ष ०७\७८ का लागि ४६ अरब १४ करोड ९५ लाख रुपैया भंसार राजस्व लक्ष्य तोकिएको छ ।

LIVE TV