२३ भाद्र २०७७, मंगलवार
  • बाल बिक्रम कार्की,

रौतटह, २३ भदौ । जिल्ला प्रशासन कार्यालय रौतहटमा झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको मुद्धामा हेटौंडाका उद्योगी विप्लपकान्ती (विके) बोस पक्राउ परेका छन् ।

प्रहरीले ५९ वर्षीय बोसलाई हेटौंडा–५ गर्दोईबाट पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा गएको टोलीले मंगलबार पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक काफ्लेका अनुसार बोसलाई जिल्ला अदालत रौतहटको पक्राउ पूर्जी र जिल्ला प्रहरी कार्यालय रौतहटको पत्रको आधारमा पक्राउ गरिएको हो ।

उनलाई स्वास्थ्य परिक्षण पश्चात रौतहट प्रहरीकोमा बुझाइने मकवानपुर प्रहरीले जनाएको छ । पक्राउ परेका बोस सुपर लेमिकोट्स प्रालि र गर्दोइमा रहेको नारायणी मिल्कका संचालक समेत रहेका छन् ।

जिल्ला प्रशासन रौतहटका प्रशासकिय अधिकृत किरणनिधी तिवारीका अनुसार बोसले वि.सं. २०६३ को नागरिकता टोलीबाट वंशजको आधारमा नागरिकता लिएको र उनको नागरिकतामाथि छानविनको लागि अख्तियारमा उजुरी परेपश्चात गृहमन्त्रालय हुँदै सो कार्यालयमा जानकारी आएपश्चात थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा लेखि पठाइएको हो ।

बोसले २०६३ चैत्र ६ गते तत्कालीन वडहर्वा गाविस वडा नम्बर ५ बाट नागरिकता लिएको खुल्न आएको छ । उनको नागरिकता माथि छानविन गर्न गृहमन्त्रालयले २०७६ माघमा जिल्ला प्रशासन कार्यालय रौतहटमा पत्रचार गरेको थियो ।

LIVE TV