२३ भाद्र २०७७, मंगलवार
  • बालबिक्रम कार्की

रौतहट, २३ भदौ । रौतहटमा समुदाय स्तरमा कोरोना संक्रमित देखिएसँगै संस्थागत आइसोलेशनमा बस्नेहरुभन्दा होम आइसोलेनमा बस्नेहरु बढेका छन् । नेपाल सरकारले निश्चित मापदण्ड पूरा गरेपछि कोरोना संक्रमितलाई होम आइसोलेशनमै बस्न दिने प्रावधान ल्याएसँगै रौतहटमा पनि होम आइसोलेशनमा बस्नेहरुको संख्या बढेको हो ।

जिल्लाका विभिन्न पालिकाहरुमा हाल ३ सय ९९ आइसोलेशन बेडहरु भएतापनि अधिकासं कोरोना संक्रमितहरु घरमै बसिरहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार सोमबारसम्म जिल्लाको देवाही गोनाही नगरपालिकाको जस किसान पोलीटेक्निक इन्टिच्युटमा १२ जना, कटहरिया नगरपालिकाको आइसोलेशनमा ५ जना, परोहा नगरपालिकाको आइसोलेशनमा ३ जना, फतुवा विजयपुरको क्वारेन्टाइनमा ७ जना एवम् चन्द्रपुर नगरपालिकाको अस्थायी कोरोना अस्पतालमा ४ जना संक्रमित रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय रौतहटको तथ्याङ्क अनुसार सोमबारसम्म जिल्लामा १ सय ३६ सक्रिय संक्रमितहरु रहेका छन् ।

जसमध्ये ३१ जनामात्र संस्थागत आइसोलेशनमा रहेका छन् । समुदाय स्तरमै कोरोना संक्रमितहरु देखा पर्दै गएपछि देवाही गोनाही नगरपालिकाको जस किसान पोलीटेक्निक इन्टिच्युटमा गौर अस्पतालले संचालन गर्ने गरि ३ सय बेड क्षमताको आइसोलेशन निर्माण गरिएको थियो । तर सो आइसोलेशनमा जम्मा १२ जनामात्र रहेका छन् ।

संस्थागतभन्दा होम आइसोलेशनमा बस्दा राम्रोसँग स्याहार सुसार, खानपीनको व्यवस्था हुने भएका आफु होम आइसोलेशनमै बसेको एक संक्रमितले बताए ।

परिवारको साथ, सहयोग, माया, हौसला र उचित स्याहार पाउने भएकाले आफुले होम आइसोलेशन रोजेको उनको भनाइ छ ।
आफूले घरमै बसेर कोरोना संक्रमण जितेकाले स्वास्थ्यमा समस्या नदेखिएका कोरोना संक्रमितहरुका लागि होम आइसोलेशननै उपयुक्त हुने होटल व्यवसायी उदय नारायण सापकोटाको सुझाव छ ।

यदि घरको वातावरण सुरक्षित छ र संक्रमितमा लक्षण र स्वास्थ्य समस्या नभएमा घरमै बसेर पनि आरामले कोरोनालाई पराजित गर्न सकिने उहाँको अनुभव छ । सापकोटा दम्पतिनै कोरोनाबाट संक्रमित भएका थिए ।

वृन्दावन नगरपालिकाका नगरप्रमुख रामस्नेही यादवले आफूहरुले कोही संक्रमित घरमै बस्न चाहेमा उनको घरको अनुगमन गरेर मापदण्ड पूरा भएमा बस्न अनुमति दिने गरेको बताउनुभयो । उहाँले संक्रमित घरमै बस्दा उनको कारण समुदाय तथा परिवारमा संक्रमण नसरोस् भनेर स्वास्थ्यकर्मीद्धारा नियमित अनुगमन गराउने गरेको जानकारी दिनुभयो ।

जिल्ला अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन डाक्टर कृष्ण साहले स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पुरा गरेर संक्रमितहरु होम आइसोलेसनमा बस्न सक्ने जनाउँदै यसको निर्णय गर्ने अधिकार सम्बन्धित पालिकालाई रहेको जनाउनुभयो ।

उहाँले कुनैपनि संक्रमितहरु होम आइसोलेसनमा बस्दा तोकिएको मापदण्ड पुरा नगरे उनको घरपरिवारका अन्य सदस्यहरुलाई पनि संक्रमण सर्ने जोखिम रहेकाले कडाइका साथ सो मापदण्ड पालना गर्नु भन्दै सानो लापरवाहीले संक्रमण फैलिने ठुलो सम्भावना हुनेमा सचेत गराउनुभयो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोहीँ संक्रमित होम आइसोलेशनमा बस्न चाहेमा सम्बन्धित वडाको वडाअध्यक्ष , पालिकाको स्वास्थ्य संयोजक र नजिकको प्रहरी कार्यालयको प्रतिनिधी गएर संक्रमितको घरमा तोकिएको मापदण्ड पूरा गर्न सकिने नसकिने अनुगमन गरेपश्चात होम आइसोलेसनमा बस्न अनुमति दिने गरेको जनाउँदै जिल्लामा संस्थागत आइसोलेसनमा बस्न चाँहेपनि पर्याप्त बेड र सुविधाको व्यवस्था गरिएको बताउनुभयो ।

उहाँले होम आइसोलेसनमा बसेका कुनैपनि संक्रमितले नियम विपरित कार्य गरेको पाइएमा उनलाई तुरुन्त संस्थागत आइसोलेशनमा ल्याउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

संस्थागत आइसोलेशनमा बस्दा समयमा खाना नहुने, अन्य सुविधा पनि नहुने तथा घरपरिवारबाट टाढा रहँदा झन बढि मानसिक समस्या हुने भएकाले संक्रमितहरुको पहिलो रोजाइ होम आइसोलेशन हुने गरेको छ ।

जिल्लामा हालसम्म १ हजार ६७१ जनामा संक्रमण पुष्टि भइसकेकोमा १ हजार ५३५ जना निको भएर घर फर्किसकेका छन् ।

LIVE TV