२२ भाद्र २०७७, सोमबार
  • रामहरि गजुरेल

नुवाकोट, २२ भदौ । गाई काटेर मासु भाग लगाउने तयारी गरिरहेको समयमा नुवाकोटको तादी गाउँपालिका–३ बाट प्रहरीले सोमवार एक जनालाई पक्राउ गरेको छ ।

नेपालको राष्ट्रिय जनावर मानिएको गाई काटेको उक्त घटनामा संलग्न रहेको अभियोग लागेका नौ जना फरार भएका छन् भने उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तादी–३ को टुटुङमा गाई काटेको सूचनाको आधारमा पुगेको प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा तादी–१ उर्लेनीका ३० वर्षका सुरेशजंग लामालाई पक्राउ गरेको हो । गाई काट्न प्रयोग भएको घरेलु हतियार घटनास्थलबाट प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेकालाई फौजदारी संहिता, २०७४ को परिच्छेद २७ मा उल्लेख भएबमोजिम र ‘पशुपक्षी सम्बन्धी कसूर’ अनुसार कारबाही अघि बढाउने जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिनुभयो । पाल्नका लागि भनेर खरिद गरेर ल्याएको गाई बाटोमै काटेको प्रहरीले जनाएको छ ।

LIVE TV