२२ भाद्र २०७७, सोमबार
  • दान बहादुर बुढा

मुगु, २२ भदौ । मुगुमा अनिश्चितकालिनको लागि विद्युत बन्द गरिएको छ । गत बिहीवार देखि नेपाल विद्युत प्राधिकरण गमगाढ साना जलविद्युत आयोजनाको मेसिनमा जलेपछि अनिश्चितकालिनको लागि विद्युत सेवा बन्द भएको छ ।

विद्युत बन्द हुँदा सदरमुकाम गमगढीवासी र नगरबासीहरु अन्धकारमा बस्न बाध्य भएका छन् । बुधवार राति ११ बजे पावर हाउसमा रहेको मोटरमा समस्या आएर बिद्युत् उत्पादनमा अवरोध आएको थियो ।

नगरपालिका भित्र बस्ने करिब १० हजार घरधुरीलाई लक्षित गरी स्थापना गरिएको गमगाढ साना जलविद्युत आयोजना पटक पटक बिग्रिन थाले पछि स्थानीय बासिन्दाले सास्ती खेप्नु परेको छ । विद्युत नहँुदा सरकारी कार्यालयबाट प्रवाह गरिने कामकाज र ईलेक्ट्रोनिक्स माध्यमबाट काम गर्ने व्यवसाय पनि ठप्प भएका छन् ।

नेपाल विद्युत प्राधिकरण गमगाड वितरण केन्द्रमा रहेको मोटर जल्दा गमगढी बजारमा मर्मतको कुनै चाँचो पाँचो नहुँदा पुनः मर्मतको लागि नेपालगञ्ज लिनुपर्ने भएकाले अनिश्चितकालिनकोे लागि विद्युत सेवा प्रवाह नहुने हँुदा यति बेला सदरमुकाम गमगढी बजार सहित आसपासमा रहेका दर्जनौ बस्तिहरु अन्धकारमा बस्न बाध्य भएका हुन् ।

सदरमुकाम गमगढी बजार लगायत अन्य बस्तीमा विद्युत सेवा नहँुदा मोबाइल चार्ज गर्न समेत समस्या भएको हुम्लाको सर्केगाड गाउँपालिका वडा नं १ का नरजंग बमले बताउनुभयो ।

विद्युत् गृहमा जडित मेसिनहरू पुरानो मोडलका भएका र अहिले बजारमा त्यो मोडलका सामानहरू पाउन मुस्किल हुने गरेको छ ।

विद्युत् गृहमा सानो सानो समस्या आएपनि चाइनाको कम्पनीसँग सोध्नु पर्ने र त्यहीबाट सामान उठाउनु पर्ने अवस्थाले झन् समस्या हुने गरेको गमगाढ वितरण केन्द्रका वितरण केन्द्र प्रमुख शिव प्रसाद पाण्डेले बताउनभयो । विद्युत अवरुद्ध हुदा छायानाथ रारा नगरपालिकाका १४ वडामा सम्स्या आएको छ ।

LIVE TV