२१ भाद्र २०७७, आईतवार

काठमाडौं, २१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन बचाउन नै मुख्यरूपमा सरकारले ध्यान दिएको जनाउँदै स्वतन्त्रताको असन्तुलित वकालतले ठूलो क्षति भोग्नुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभएको छ ।

अर्थमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री ओलीले आइतबार साँझ निजी क्षेत्रका नेतृत्वकर्तासँगको छलफलमा कोभिड–१९ बारेको सूचना प्रवाहले भयावह तस्वीर प्रस्तुत गरेर जनजीवनलाई आतङ्कित गर्न नहुने बताउनुभयो ।

उहाँले नेपाली जनता कसैलाई भोकै बस्न नदिन सरकार लागिपरेको बताउँदै स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहसमक्ष वास्तविक समस्या राख्नसमेत आह्वान गर्नुभयो ।

प्रधानमन्त्री ओलीले उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेको प्रष्ट्याउँदै केवल कर असूलीमा मात्र ध्यान नदिइएको तथ्यमा पनि प्रकाश पार्नुभयो ।

काम गरेर खान नेपालमा समस्या नरहेको स्थिति स्पष्ट पार्दै उहाँले भौतिक श्रम गर्न विदेश जाने कुरामा अब खासै आकर्षण नभएको र युवाहरूलाई यो अवस्था बुझेर देशभित्र क्रियाशील हुन पनि आह्वान गर्नुभएको छ ।

छलफलमा उद्योगी तथा व्यवसायी भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतीश मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले सुझाव प्रस्तुत गर्नुभएको थियो । त्यसक्रममा उद्योगी व्यवसायीले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाई चलायमान बनाउन र कोरोनालाई हौवाको विषय नबनाउन प्रधानमन्त्रीसमक्ष आग्रह गर्नु भएको थियो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल र निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडाले निजी क्षेत्रका सरोकार, अपेक्षा र प्राप्त सुझावमा सरकारले यसबेला चालेका विभिन्न कदम, गरेको अध्ययन र सम्बोधनका बारेमा स्पष्ट गर्नुभएको थियो ।

LIVE TV