२१ भाद्र २०७७, आईतवार

काठमाडौं, २१ भदौ । ललितपुरका प्रमुख जिल्ला अधिकारी ( सिडिओ ) नारायणप्रसाद भट्टले दशैँसम्म निषेधाज्ञा जारी गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरस सम्बन्धी कामहरूको अनुगमन र मूल्यांकनका लागि गठित उपसमितिको बैठकमा बोल्दै उहाँले निषेधाज्ञा दसैँसम्म लम्ब्याउनुपर्ने बताउनुभएको हो ।

उहाँले जात्रा, चाड पर्व जस्ता कुरा मानिसको भावनासँग जोडिएकोले त्योसमय झनै भीडभाड हुनसक्ने भन्दै दशैँको बेलासम्म निषेधाज्ञा कामय गरेर कोरोना भाइरस संक्रमणलाई राक्नुपर्ने बताउनुभयो ।

उहाँले हिन्दु नारीहरुको चाडमासमेत निषेधाज्ञा जारी गरेको औल्याउदै दशैँमा झनै आवतजावत बढी हुने भएकाले यसलाई कायम नराखे कोरोना संक्रमण नियन्त्रण भन्दा बाहिर जानसक्ने बताउनुभयो । बिहीबार ललितपुरमा भएको स्थानीय र प्रहरीबीच भएको झडपबाट पाठ सिक्दै आगामी दिनमा फरक रणनीति बनाएर सुरक्षा व्यवस्था कडाइ गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी भट्टको भनाइ थियो ।

उहाँले भन्नुभयो ‘जात्रा, संस्कृति, पर्व भनेपछि बरु ज्यान छाड्न पनि तयार हुर्ने मान्छेहरूको भावना हुँदो रहेछ, दसैँमा पनि यस्तो हुनसक्छ ।’ चाडबाड भन्दैमा धेरै भीड गर्न अहिलेको अवस्थामा अनुकुल नहुने तर्क पनि उहाँको थियो ।

कोरोना भाइरसको अवस्था सामान्य हुँदै गए बिस्तारै निषेधाज्ञा खुल्ने हुनाले अहिलेको अवस्थामा नआत्तकिन घरमै रहन उहाँले सुझाव दिनुभएको थियो । यद्यपि दशैँको बेलासम्म भने जसरी भएपनि निषेधाज्ञा जारी राख्नुपर्ने उहाँको भनाइ छ ।

LIVE TV