गीत : न मधेसी न पहाडी….



प्रकाशित मिति : Sep 06, 2020

  • डा. राजेन्द्र विमल 

 

न मधेसी, न पहाडी, न हिमाली लेखियोस्
म मरेपछि पहिचान मेरो नेपाली लेखियोस् ।

 

पुर्खाको नाउँ लेख्नुपर्दा
जनक र बुद्ध लेखाइदिनू
उचाइ मेरो नाप्नेलाई
सगरमाथा देखाइदिनू
घरबार मेरो मेचीदेखि काली लेखियोस्
न मधेसी, न पहाडी, न हिमाली लेखियोस् ।

 

मेरो छाती चिरेर पढाइदेओ
दनदन बलेका शौर्यका गाथा
पाखुरा देखून् अमरसिंहका
कहिल्यै नझुक्ने यी बलभद्र-माथा
कात्रोमा रक्तले चन्द्र र सूर्यको लाली लेखियोस्
न मधेसी, न पहाडी, न हिमाली लेखियोस् ।

 

मेरो सास उल्टो चल्न थाल्दा
राष्ट्रिय धुन बजाउन थाल्नू
मेरो मुखमा मेरै नदीका
पवित्र जल तिमीले हाल्नू
नेपाल-मन्त्र जप्तै मर्यो, नेपाली लेखियोस्
न मधेसी, न पहाडी, न हिमाली लेखियोस् ।

 

(डा. विमल वरिष्ठ साहित्यकार एवं संस्कृतिविद् हुनुहुन्छ)


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com