२१ भाद्र २०७७, आईतवार

  • शिलु शर्मा

तिमीले भनेजस्तै
केही देखिरहेको छैन मैले त–
ढकमक्क बगैंचा मुस्कुराएको
सङ्लो नदी कलकल बगेको
नीलो आकाशको हँसिलो आलिङ्गन
तिमीले भनेझैं शान्त परिवेश
सुनसान बाटा र बजार
आ–आफ्ना छतमुनि लमतन्न सुतेका मान्छे
शान्त… अझै शान्त बनेका मान्छे ।

तिमीले भनेझैँ
शान्तिको अनुभूति कतै छैन मलाई ।

म त छटपटी मात्र देख्छु
रोदन, आँसु, भोक
चुल्हा बाल्न नपाउँदाको आँसु
एकतमासले रित्तो भाँडा हेरिरहेका नाबालक आँखाहरू
कोठाभित्र छिर्न नदिई रोकिएका खुट्टाहरू
तिरस्कार, अपमानले दुखेका मनहरू
गलहत्याइएका पाखुरीहरू
अस्पताल चहार्दाचहार्दै झिनो आशामा भौतारिएका अर्धलाशहरू ।

तिनीहरूलाई पनि मन लाग्दो हो–
घरमा सुतिरहेका ससाना निधारहरूलाई चुम्न
मुजा परेका हातहरूलाई थाम्न
तर, मनभित्रका चाहना गुम्साएर
सडकमा, सीमामा, अस्पतालमा
छन्– अझै कर्तब्यको बोधले जेलिएका ।

खै त तिमीले सुनेको त्यो रोदन–
कामबाट निकालिएका श्रम र सीपहरूको
केही गर्छु भन्ने आँट र साहसहरूको
देशलाई कोल्टे फेराउछु भन्ने विश्वासहरूको ?

एकपल्ट कोशिश गर न
तिमीले पनि सुन्छौ–
ती आवाज, कोलाहल, पीडा अनि छटपटी
तिमीले महसुस गर्छौ–
करोड मन–मस्तिष्कभित्रका उथलपुथल
हो, एकपल्ट प्रयास गर न है !

[email protected]

LIVE TV