१९ भाद्र २०७७, शुक्रबार
  • घनश्याम मिश्र

जनकपुरधाम, १९ भदौ ।  धनुषामा थप एक मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको आन्ध्र प्रदेशको विशाखापटनम घर भई धनुषामा कार्यरत ६५ वर्षीय पुरुषमा मृत्युपश्चात् कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय धनुषाका सूचना अधिकारी गणेश मिश्रले जानकारी दिए ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ रमदैयास्थित लोमस प्यारेन्टेरल एण्ड फोरमुलेसन प्रालिमा विगत ४ वर्षदेखि जनरल म्यानेजरको रुपमा कार्यरत ती पुरुषको कम्पनीकै आवासगृहमा बिहीबार बिहान मृतअवस्थामा शव फेला परेको थियो । मृत्युभन्दा २/४ दिनपहिले हल्का ज्वरो तथा खोकी देखिएकाेले कोरोना परीक्षण गर्दा एनकाे रिपोर्ट पोजेटिभ आएको सूचना अधिकारी मिश्रले बताए ।

मृतककाे शवलाई बिहीबार नै धनुषाको महेन्द्रनगरमा रहेको श्रीनाथ गणबाट खटेको सेनाको टोलीले क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ९ इच्छापुर स्थित जल्लाद खोलाको किनारमा कोभिड- १९ शव व्यवस्थापन कार्यविधिअनुसार व्यवस्थापन गरिएको छ ।

यससँगै धनुषा जिल्लामा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

LIVE TV