१९ भाद्र २०७७, शुक्रबार

एजेज्सी, १९ भदाै । ब्राजिलका आक्रामक मिडफिल्डर फिलिप कोउटिन्हो बार्सिलोना फर्किएका छन्। बार्सिलोनामा राम्रो प्रदर्शन गर्न नसकेको भन्दै एक वर्षअघि लोनमा जर्मन क्लब बायर्न म्युनिख पुगेका कोउटिन्हो बायर्नमा समय गुजारेर पुनः बार्सिलोना फर्किएका हुन् ।

बार्सिलोनासँगको सम्झौता अझै तीन वर्ष बाँकी रहेका कोउटिन्होलाई यसअघि क्लबले नराख्ने निर्णय गरेको थियो । तर नयाँ प्रशिक्षक रोनाल्ड कोइम्यान पनि कोउटिन्होलाई टोलीमा समावेश गर्न इच्छुक देखिएका छन् । बायर्नले कोउटिन्हो बार्सिलोना फर्किएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।

कोउटिन्होले गरेको प्रदर्शन र उपलब्धिलाई लिएर बायर्नले उनलाई धन्यवादसमेत दिएको छ। कोउटिन्होले पनि बायर्नका आफ्ना समर्थकलाई धन्यवाद दिएका छन् । बार्सिलोनामा जम्न नसकेको आरोप लागेका कोउटिन्होले बायर्नमा उत्कृष्ट खेल देखाएका थिए ।

२०१८ को जनवरीमा १४२ मिलियन पाउण्ड खर्च गरेर बार्सिलोनाले कोउटिन्होलाई लिभरपुलबाट किनेको थियो । तर बार्सिलोनामा कोउटिन्होको पहिलो सिजन सोचेजस्तो हुन सकेन । बार्सिलोनामा आफ्नो भरपर्दो पोजिसनमा खेल्न नपाएका कोउटिन्हो २०१९ को अगस्टमा एक सिजनको लोनमा बायर्न म्युनिक पठाइएकाे थियाे ।

उनले बायर्नलाई एकै सिजनमा बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कप गरी महत्वपूर्ण तीनवटा उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्नले बार्सिलोनालाई ८–२ गोलले हराउँदा दुई गोल उनै कोउटिन्होले गरेका थिए । २८ वर्षीय कोउटिन्होले बुन्डेस लिगामा मात्र २३ खेल खेल्दै आठ गोल गरेका छन् । उनले च्याम्पियन्स लिगमा तीन गोल गरेका थिए ।

LIVE TV