१८ भाद्र २०७७, बिहीबार
  • बालबिक्रम कार्की,

रौतहट, १८ भदौ । रौतहटको गरुडामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । जिल्लाको गरुडा नगरपालिकामा गत साउन ३२ गते निरन्जन रामको हत्याको अभियोगमा नियन्त्रणमा परेका बिजय रामलाई प्रहरीले चरम यातना दिएकाले मृत्यु भएको भन्दै गरुडा बजारमा दैनिक प्रदर्शन हुदै आएको छ ।

सोही क्रममा आज प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता डीएसपी भरत श्रेष्ठका अनुसार प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुडा प्रहार गरेपछि जवाफी कारबाही गर्दा केही राउन्ड अश्रु ग्यास फायर गरिएको हो ।

निरन्जन राम र बिजय रामको न्यायको लागि तथा दोषी उपर कारबाहीको माग गर्दै अनसनरत पूर्व मन्त्री विशेन्द्र पासवान समर्थक र प्रहरीबीच झडप भएको हो ।

निरन्जन राम र विजय राम हत्याकाण्ड सङ्गघर्ष समितिको आज जिल्ला प्रशासन कार्यालय रौतहट घेराउ गर्ने कार्यक्रम तय भएको भएतापनि गरुडामा कसरी झडप भयो ? भन्ने विषयमा आफूहरुलाई कुनै जानकारी नभएको सङ्गघर्ष समितिका एक सदस्यले बताए ।

प्रहरीले बल प्रयोग गरेर भीडलाई तितरवितर गरेको र हाल स्थिति सामान्य हुँदै गइरहेको प्रहरीले जनाएको छ । झडपमा परेर केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् ।

LIVE TV