१८ भाद्र २०७७, बिहीबार

काठमाडौं, १८ भदौ । पछिल्लो २४ घण्टामा देशभर छ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा चितवनकी ४० वर्षीया महिला, भक्तपुरकी ४० वर्षीया महिला, तनहुँका ९२ वर्षीया वृद्धा, रुपन्देहीका ७७ वर्षीया वृद्धा र ६५ वर्षीय वृद्ध गरी दुई जना र सिञ्धुपाल्चोका ७७ वर्षीय वृद्ध रहेका छन् ।

योसंगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ । चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर ११ निवासी ४० वर्षीया महिलाको उपचारको कर्ममा गएराति मृत्यु भएको हो ।

भदौ ६ गते अस्पताल भर्ना भएकी उनमा १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलाको मृत्यु भएसंगै चितवनमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । यसैगरी भक्तपुर जिल्लामा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

पाटन अस्पतालमा उपचाररत मध्यपुर थिमि नगरपालिका वडा नं. ६ चपाचो बस्ने ४० वर्षीया महिलाको गएराति दुई बजे मृत्यु भएको हो । मृतक महिलामा भदौ ४ गते कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो ।

यसैगरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल पुगेकी रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ११ सालझण्डीकी ७७ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको हो ।

बुधबार साँझ ७ बजेतिर अस्पताल आएकी महिलालाई पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। यो सँगै रुपन्देहीमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

LIVE TV